नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काठमाडौंसहित देशका विभिन्न स्थानमा अनुमति विना दर्जनौ विदेशी डाक्टरले काम गरिरहेको पत्ता लगाएको छ।
सिआइबीले यही माघ १५ गते काठमाडौंका ५ वटा अस्पतालमा एकै साथ छापा मारेपछि काठमाडौंकै विभिन्न अस्पताल र देशका विभिन्न स्थानमा अनुमति नलिइ विदेशी डाक्टरहरुले काम गरिरहेको पत्ता लगाएको हो ।
अस्पताल र स्वास्थ्यसंस्थाहरुसँग मिलेर अनाधिकृत रुपमा चिकित्सकिय कार्य गर्दै आएको, चिकित्सा विज्ञान सम्बन्धि कुनै अध्ययन नगरेकाहरुबाट सेवा प्रदान भइरहेको सिआइबीले जनाएको छ।
'मानव स्वास्थ्यमा गम्भीर खेडवाड हुने काम भइरहेको छ,'सिआइबीका निर्देशक पुष्कर कार्कीले सेतोपाटीसँग भने, 'काठमाडौंसहित देशमा विभिन्न स्थानमा विदेशीहरु अनुमति नलिइकन चिकित्सा क्षेत्रमा काम गरिरहेको सुचना हामीले पाएका छौं। केहीदिनभित्रै विदेशी ल्याउने संचालक र काम गरिरहेका डाक्टरहरुमाथि अप्रेसन सुरु हुन्छ।'
प्रहरीका अनुसार काठमाडौंसहित पोखरा, चितवन र विराटनगरका केही अस्पताल र स्वास्थ्य संस्थाले टुरिष्ट भिसामा विदेशी ल्याएर काम गराइरहेका छन्।
सिआइबी स्रोतका अनुसार पर्यटक भिसामा विदेशीहरु ल्याएर अस्पतालका संचालकहरुले उनीहरुलाई काममा लगाइरहेका छन् । नेपाल मेडिकल काउन्सिलसँग अनुमति नलिइ उनीहरुलाई काममा लगाउन नहुने कानुनी प्रावधान छ।
'टुरिष्ट वा वर्किङ भिसामा कुनै डाक्टर नेपाल आएर काम गर्नु परे मेडिकल काउन्सिलबाट अनुमति लिनुपर्छ,'सिआइबीका प्रवक्ता एसपी जीवन श्रेष्ठले भने, 'कसैको जिउज्यान तलमाथि भए कसले जिम्मा लिन्छ।'
सिआइबीले यस अघि एपोलो इन्टरनेसनल पोलिक्लिनिक ठमेल, सिवेक हस्पिटल लैनचौर, चाइना ग्रेट वाल हेल्थ सेन्टर, चाइना पिपुल्स र चाइनिज डेन्टल हस्पिटल बौद्धमा छापा मारेको थियो। पक्राउ परेकामा १२ जना चिनियाँ नागरिक, एक जना अष्ट्रेलियन र बाँकी नेपाली छन् ।
एपोलोकी संचालिका नवलपरासीकी मीनाकुमारी श्रेष्ठ, सिवेककी प्रतिभा पाण्डे चाइना ग्रेट वालका संचालक पाल्पा खानीछाप २ का नारायण तिमिल्सिना अहिले सिआइबीको हिरासतमा छन्।