दाङको घोराही उपमहानगरपालिकाले नगरभित्रका खरको छाना हटाउने अभियान सुरू गरेको छ।
अभियानको सुरूवात वडा नं. १६ बाट भएको छ। गत असारमा भएको स्थानीय निकायको निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पूरा गर्नका लागि गरीब परिवारका खरका छाना हटाएर टिनको छाना हालिदिने अभियानको सुरूवात भएको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले सेतोपाटीलाई बताए।
वडा नं. १६ बाट अभियानको सुरूवात भएको जानकारी दिएका मेयर चौधरीले वडा भरिका सबै घरका खरका छाना हटाएर टिनको छाना राखिदिने प्रक्रियाको सुरूवात भएको बताए। वडा नं. १६ मा ४८ स्थानीयको घरमा खर तथा फुसको छानो रहेको हुँदा त्यसलाई विस्थापित गरी जस्ता पाता लगाउने अभियान सुरू भएको वडा नं. १६ का वडा अध्यक्ष लछिनप्रसाद बुढाले जानकारी दिए।
खरको छाना हटाउन प्राविधिक नापजाँचको पूरा भएको जानकारी दिएका बुढाले अब छिट्टै ४८ घरहरूमा टिनको छाना हालिने बताए। वडा सचिव र प्राविधिकहरूलाई आवश्यक तयारीको लागि काममा खटाइएको बताएका बुढाले हाल घरहरूको विवरण तथा घरको साईजको नापजाँच तीव्र रूपमा भइरहेको जानकारी दिए। ‘ गरीब तथा आर्थिक अवस्था कमजोर भएकाहरूको मात्रै खरका छाना छ। त्यस्ता घरहरूमा अबको सुख्खा मौसममा आगलागीको जोखिम बढी रहन्छ,’– वडा अध्यक्ष बुढाले भने, ‘आगलागीबाट हुने धनजनको क्षति न्यूनीकरणको लागि खरको छाना विस्थापित गर्ने अभियानमा लागेका हौं।’
उनले आवासका साथै वस्तु चौपाया बाँध्न निर्मित स्थानीयहरूका गोठमा समेत खरको छाना हटाएर टिनको छाना लगाउने तयारी गरिएको जानकारी दिए। वडा नं. १६ का ४८ वटा घरहरूमा खरको छानाहरू हटाएर टिन लगाउने कामका लागि झन्डै १४ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको वडा अध्यक्ष बुढाले बताए। तर, उनले वडा नं. १६ को वडा कार्यालयले आवश्यक टिन उपलब्ध गराउने जानकारी दिँदै टिन लगाउन आवश्यक पर्ने काठ तथा अन्य आवश्यक सामग्री भने घरधनी स्वयमले गर्नुपर्ने बताए।
‘हामीले टिन मात्रै उपलब्ध गराउने छौं, अन्य सबै किलाकाँटी तथा काठपातको व्यवस्था घर धनि स्वयमले गर्नुपर्नेछ,’ अध्यक्ष बुढाले सेतोपाटीलाई भने। निर्वाचनका क्रममा गरेको वाचा निर्वाचित जनप्रतिनिधिले व्यवहारमा उतार्न लागेकोमा स्थानीय खरको छाना रहेका घरधनीहरू भने खुसी भएका छन्। वडा नं. १६ का खरको छानो भएका रामबहादुर विकले बल्ल गरीब दुःखीको पनि कोही रहेछ भन्ने अनुभूति हुन थालेको बताए।
‘सरकार गरीब र दुःखीको पक्षमा उभिनु तथा घरमा टिन लगाईदिनु जस्तो खुसीको कुरा हामी जस्ता जनताको लागि के हुन सक्छ ?’ विकले फोनमा भने। स्थानीय सरकारले खरको छानो हटाएर टिन लगाइदिने भएपछि घरपरिवार र बालबच्चा पनि खुसी भएको उनले बताए। ‘वरपर हाम्रो घरमा मात्रै खरको छाना थियो,’– विकले खुसी साट्दै भने ‘अब त केही समयपछि हाम्रो घरमा पनि टिन लाग्ने भयो।’
टिन किन्ने पैसा नहुँदा आफूले हालसम्म खरको छानोलाई टालटुल गरि बस्दै आएको उनले बताए। वर्षामा चुहिएर हैरान पार्दा पनि गरीबीले गर्दा फेर्न नसकेको भएपनि अब भने स्थानीय सरकारले टिन लगाइदिन लागेको बताए। यसबाट समाजमा समानताको अनुभूति आफूमा पनि हुन थालेको विकले बताए।
तुलसीपुरमा खरका छाना हटाउन टेण्डर आह्वानतुलसीपुर उपमहानगरपालिकाले १९ वटै वडामा खरका छाना हटाउने अभियान सुरू गरेको छ।
माघ ११ गतेको कार्यपालिका बैठकले उपमहानगरपालिका भित्रका सम्पूर्ण वडामा रहेका खरको छाना हटाउनका लागि टिन खरीद गर्न टेण्डर आह्वान गरिसकेको छ। त्यसको लागि उपमेयर माया आचार्यको संयोजकत्वमा एउटा समिति गठन गरिएको छ।
उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले नगर परिषदले नै त्यसका लागि कार्यविधि पारित गरिसकेको जानकारी दिए। ‘फागुन महिनाबाट खरको छाना विस्थापित गर्ने अभियान सुरू गर्छौं’,– मेयर पाण्डले सेतोपाटीलाई भने ‘हाल तथ्याङ्क संकलनको काम धमाधम चलिरहेको छ।’
तुलसीपुर उपमहानगरपालिकाको १९ वटा वडामा गरेर कम्तिमा पनि ५ हजारदेखि ७ हजारसम्म खरका छानायुक्त घरहरू हुनसक्ने उनले अनुमान गरे। हरेक वडाहरूमा विवरण संकलन भइरहेको उनले जानकारी दिए। नगरलाई खरका छानायुक्त बनाउन कति रकम आवश्यक पर्ला भन्ने अझै यकिनका साथ भन्न तथ्याङ्क संकलनपछि मात्रै सकिने बताएका मेयर पाण्डेले उपमहानगरपालिका र निजी क्षेत्रलाई समेत गुहारेर खरको छाना विस्थापित गर्ने आफ्नो योजना रहेको बताए।
‘हामी ५ वर्ष भित्रमा सबै खरका छाना हटाएर रंगिन टिनका छाना हालिसक्ने अठोटका साथ काम गर्दैछौं,’– मेयर पाण्डेले भने, ‘अर्काै चुनावमा जाँदा हामीले गरेको वाचा अनुरुप एउटा घरमा पनि फुसको छाना रहन दिने छैनौं।’ उनले वर्गिकरण गरि सबैभन्दा पहिला अति गरीब, दुःखी तथा विपन्न परिवारको घरबाट प्राथमिकताको आधारमा टिन लगाउने कामको सुरूवात हुने जानकारी दिए।
उपमहानगरले स्थानीय कानून बनाउनेयसैबीच, तुलसीपुर उपमहानगरपालिकाले स्थानीय तहको क्षेत्र अधिकार भित्र रहेका कुराहरूमा नीति र कानून बनाउने निर्णय पारित गरेको छ।
नगर कार्यपालिकाको बैठकले विभिन्न ३६ वटा विषयमा कानून बनाउनका लागि कार्यपालिका सदस्यहरूलाई जिम्मेवारी तोकेको हो। तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतमा बसेको आइतबारको बैठकले तत्काल सबै विषयका कानून बनाएर स्थानीय तहमा काम सुचारू गर्ने पनि गरेको छ।
‘स्थानीय तहमा सबै अधिकार प्रत्यायोजन गरिएकाले कानून बनाउन लागिएको हो,’ नगरप्रमुख पाण्डेले भने। उनले कानून निर्माण भएसँगै काम अगाडि बढाउनका लागि सजिलो हुने समेत बताए।