राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित आवास निर्माणका लागि १ लाख रुपैयाँ थप रकम दिने सरकारको निर्णयबारे अनविज्ञता प्रकट गरेको छ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भूकम्पपछिको आवास निर्माणका लागि १ लाख रुपैयाँ रकम थप गर्ने सरकारको निर्णयबारे आफूलाई थाहै नभएको प्रतिक्रिया दिएका हुन्।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भूकम्प पीडित आवास निर्माणका लागि थप १ लाख रुपैयाँ दिने सरकारको निर्णयबारे प्राधिकरणमा कुनै औपचारिक जानकारी नआएको पनि स्पष्ट पारे।
प्रमुख कार्यकारी अधिकृत भुसालले यो आर्थिक वर्षभित्र सरकारले निर्णय गरेपनि आवास निर्माणका लागि थप १ लाख रुपैयाँ दिन सक्ने अवस्था नरहेको दाबी समेत गरे।
प्राधिकरणले चालू आर्थिक वर्षभित्र आवास निर्माणका लागि तेस्रो किस्ताको रकम वितरण गरिसक्ने योजना पनि बनाएको छ। त्यसका लागि थप ४८ अर्ब रुपैयाँ अर्थ मन्त्रालयलाई तत्काल निकासा गर्न पनि आग्रह गरिएको प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक भुसालले जानकारी दिए। सरकारले यस वर्ष तेस्रो किस्ताका लागि ५३ अर्ब बजेट निकासा गरेको छ।
प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणका लागि प्राविधिक जनशक्तिको अभाव नभएको दाबी समेत गरेको छ।
https://youtu.be/XsaIYbckCIA