काठमाडौंको भृकुटीमण्डपमा प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो सुरू भएको छ।
शुक्रबार राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को आयोजनामा सुरू भएको उक्त एक्स्पोको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका हुन्।
कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपालको हरेक राजनीति परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका रहेको चर्चा गरे।
एनएफपीजेले हेवी हेल्प लिंकको मुख्य प्रायोजनमा नेपालमा पहिलो पटक प्रिन्टिङ र फोटोग्राफ्रीको एक्पो २०७४ को आयोजना गरेको बताएको छ।
एक्स्पोमा कुल १ सय वटा स्टलहरू हुनेछन् जसमा १३ ठूला र ८७ वटा साना स्टलहरू छन् । प्रदर्शनी स्थलमा कार्यशाला गोष्ठी, अन्तरक्रिया, फोटो प्रदर्शनी, फोटो सेसन तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू रहेका छन्। प्रदर्शनी स्थलमा फुड स्टलको समेत व्यवस्था गरिएको छ।
प्रदर्शनीमा जापान, ताइवान, भारत, चीन लगायतका देशमा निर्माण भएका सञ्चार उपकरण ६० कक्ष मार्फत विक्री वितरणमा राखिएका छन् ।
एक्स्पोमा प्रिन्टिङतर्फ अफसेट प्रेस, फ्लेक्स प्रिन्ट, फोटोग्राफीतर्फ क्यामेरा उत्पादक कम्पनीहरू, फोटो पेपर उत्पादक कम्पनीहरू, फोटो प्रिन्टका विभिन्न मेसिन उत्पादक कम्पनीहरू, मोबाइल, ल्यापटप ,कम्प्युटर, वित्तीयतर्फ बैंक तथा बीमा कम्पनीहरू, फोटोग्राफी तथा फोटोपत्रकारिता सम्बन्धि कलेजहरू, ईष्टिच्यूटहरू, प्रकाशन गृह लगायतको सहभागिता रहेका छन्।
प्रदर्शनी माघ २१ गतेसम्म आयोजना गरिने भएको छ।
सबै तस्बिरहरू : नारायण महर्जन/सेतोपाटी