काठमाडौंको दरबारमार्गस्थित एक होटलमा सामूहिक बलात्कृतमा परेको भन्दै प्रहरी गुहारेकी युवतीले बयान फेरेकी छिन्।
प्रहरीमा जानकारी गराएपछि सम्पर्कविहिन भएकी युवती बुधबार साँझ काठमाडौं प्रहरी परिसरमा उपस्थित भएर आफू सामूहिक बलात्कारमा नपरेको भन्दै बयान फेरेकी हुन्।
गत शुक्रबार राती ल्याण्डमार्क होटलमा आफू बलात्कृत भएको भन्दै ती युवतीले शनिबार बिहान दरबारमार्ग प्रहरीमा मौखिक जाहेरी दिएकी थिइन्।
छानबिन समितिसँगको छलफलमा उनले आफूले रामेछापका एक कार्की थर भएका साथीसँग सहमतिमा नै शारिरीक सम्पर्क गरेको बताएकी हुन्।
काठमाडौं प्रहरीका एसपी रामदत्त जोशीले सम्पर्कविहिन भएकी युवती सम्पर्कमा आएको र अनुसन्धान भइरहेको बताए।
उनी दबाबमा परेर बयान फेरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। जोशीले 'कसैको दबाबमा बयान परिवर्तन गरेकी त होइनौं ' भन्दा ती युवतीले कसैको बहकाउमा आफू नलागेको बताएको छानबिन समितिका एक सदस्यले सेतोपाटीलाई जानकारी दिए।
प्रहरीले यस विषयमा अनुसन्धान गर्न उनलाई नै जिम्मा दिएको छ। प्रहरी महानिरीक्षक प्रकाश अर्यालले यस घटनामा छिटोभन्दा छिटो अनुसन्धान गर्न काठमाडौं प्रहरी परिसरलाई निर्देशन दिएका थिए।
घटनापछि दरबारमार्ग प्रहरी वृतका डिएसपीलाई जिल्लामा तानिएको छ भने प्रहरी निरीक्षक लक्ष्मण ठकुरीलाई नियन्त्रणमा लिइएको छ। घटनामा संलग्नहरुसँग ३० लाख लिएर प्रहरीले लिएर मिलापत्र गराएको हुन सक्ने अनुमान गरिएको छ।