मनोज पुनको नाम लिएर ४ नं प्रदेशसभाका सदस्य बिन्दु थापा लगाएत पोखराका घराना व्यापारीलाई ज्यान मार्ने धम्की दिँदै फिरौती रकम माग गर्ने चार जनाको गिरोहलाई पोखरा प्रहरीले पक्राउ गरेको छ।
भारतमा गएर मनोज पुनको परिचय दिँदै सांसद तथा व्यापारीलाई करोडौं फिरौती रकम माग्ने स्याङ्जा पुतलीबजार–६, टक्सारका ३५ का शंकर भन्ने नरबहादुर गुरुङ, स्याङजा, फेदीखोला–४ का २६ वर्षिय अमृत खड्का, स्याङ्जा फेदीखोलाकै वडा नं २ का २३ वर्षिय शिव कार्की र पर्वत कुश्मा–१० का रामु सुवेदीलाई पोखरा प्रहरीले २ दिन पहिला पक्राउ गरी बिहिबार सार्वजनिक गरेको छ।
उनीहरूले पुनको नाम लिँदै पोखराका सांसद तथा व्यापारी बिन्दु थापा, कालु गुरुङ, बोधराज कार्की र मनकामना केबुलकारका सञ्चालक राजेशबाबु श्रेष्ठलाई भारतीय नम्बरबाट फोन गर्दै करोडौं फिरौती रकम माग गरेको पोखरा प्रहरी प्रमुख एसपी अशोक सिंहले बताए।
सांसद थापालाई माघ १५ गते तीन दिनको अल्टिमेटम दिई ९८६५१६५५१२ नम्बरको मोबाइलबाट धम्कीपूर्ण म्यासेज आएको थियो। तपाईले के कसरी कमाउनुभएको छ, त्यो हामीलाई थाहा छ, भनेको समयमा रकम तयार पार्नु, हैन भने के हुन्छ विचार गर्नु भन्दै म्यासेज आयो।
‘उक्त धम्कीपछि सासंद थापाले हामीसँग समन्वय गर्नुभयो,साच्चिकै पुनले नै फोन गरेको हो की भन्दै हामीले अनुसन्धान गर्यौं,’ एसपी सिंहले भने, अनुसन्धान गर्दै जाँदा उक्त नम्बर प्रयोग भएको स्याङ्जाका जिल्लाको लोकेशन देखाएपछि शिव कार्कीलाई स्याङ्जाबाट प्रहरी टावरले देखायो।’
उनका अनुसार उनीहरूले नेपालबाट मात्र नभएर भारतमा गएर भारतीय नम्बरबाट पनि फोन गरेको देखिएको छ, नेपाली नम्बरबाट फोन गरेर मनोजको समुहको सदस्य भन्ने र उनै रामु सुवेदी र अमृत खड्का भारतमै गएर मनोज पुननै भनेर फोन गर्ने गरेको देखियो एसपी सिहले भने । मुख्य योजनाकार शंकर भन्ने नरबहादुर गुरुङले पोखराको जरेबरस्थित एउटा घरको फ्ल्याट नै भाडामा लिएर राम सुवेदी र अमृत खड्कालाई तालिम दिएर फिरौती मिसनमा लागेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीले अमृत खड्काको साथबाट फिरौती रकम माग गर्दा प्रयोग गरिएका २ ओटा सिम कार्डसहित घटनमा प्रयोग भएको मोबाईल समेत बरामद गरेको छ।
आर्थिक लोभमा फसियोपक्राउ परेका अभियुतहरूले रातारात करोडपति भइन्छ भन्दै आर्थिक प्रलोभनमा पारेर नरबहादुर गुरुङले फसाएको बयान दिएका छन् अहिले मनोज पुनको धम्कीले सबैजना डराउछन्, यो मौकामा कमाउनु पर्छ, धम्की दिएमा ज्यानको डरले खुरुक्क पैसा निकाल्छन्, बस पैसावाल मात्र भएपुग्छ भन्दै गुरुङले आस देखाए त्यही मानियो, लागेको खर्च पनि उनैले ब्यहोरेका हुन्। यता उता गर्दा केही आफ्नो खर्च भएको समेत पक्राउ परेकाहरूले प्रहरी बयानमा भनेका छन्।
उता घटनाका मुख्य योजनाकार भनिएका नरबहादुर गुरुङले भने ऋण तिर्नकै लागि यस्तो नाटक रचेको बयान दिएका छन्। धेरै ब्यक्तिहरूलाई पैसा दिन रहेको र व्यवहार बिग्रिएकाले यस्तो खेल गर्नु परेको हो उनले प्रहरी बयानमा भनेका छन् ।