दाङको लमही अस्पतालको शव गृहमा एकजना व्यक्तिको शव पाँच दिनदेखि रहेपनि हालसम्म मृतकको पहिचान हुन सकेको छैन।
माघ १४ गते बिहान भालुवाङको ‘हाम्रो होटल’ नजिकै मृत अवस्थामा फेला परेका अन्दाजी ५५ वर्षीय पुरुष व्यक्तिको पहिचान खुल्न नसक्दा समस्या भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख एवं प्रहरी निरीक्षक रविन्द्र खड्काले जानकारी दिए।
कालो ज्याकेट, कालो पाइण्ट, कालै जुत्ता लगाएका ती व्यक्तिलाई पूर्वबाट आउने बसले माघ १४ गते बिहान साढे ५ बजेतिर भालुवाङको ‘हाम्रो होटल’को गेट अगाडि झारेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ।
मृतकका आँखा पँहेलो देखिएको हुँदा ती व्यक्ति जेन्डिसको बिरामी थिए कि भन्ने आशंका गरिएको खड्काले बताए। ‘होटलको सिढीको आडमा अडेस लागेर बसेकै अवस्थामा ती व्यक्ति मृत फेला परेका थिए,’ प्रमुख खड्काले भने। मृतकको साथबाट एउटा मोबाईल पनि फेला परेको र उक्त मोबाईलमा रहेका नम्वर डायल गर्दा फोन रसुवाको व्यक्तिले उठाउने गरेको र उनीहरूले मृतक व्यक्ति रोल्पा निवासी भएको हुँदा आफूहरूले बसमा चढाएर उतै पठाइदिएको भन्ने जवाफ दिएको प्रहरी निरिक्षक खड्काले बताए।
प्रहरीले मृतकको बारेमा खबर सम्प्रेषण गरेर सहयोग गरिदिन र आफन्तलाई पहिचान गरि शव लैजानका लागि अनुरोध गरिदिन आग्रह समेत गरको छ।