चरेसलगायत लागू पदार्थ तस्करीमा महिलाको प्रयोग बढेको पर्सा प्रहरीले जनाएको छ।
चरेसको कारोबारीहरूले २ हजार प्रति खेपमा काखे बच्चासहित महिलाहरूलाई प्रयोग गर्न थालेको पर्सा प्रहरीले जनाएको छ।
नेपालबाट भारत चरेसको तस्करी गर्दै आएको गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेपछि कारोबारको नयाँ तरिका खुलासा भएको हो। अनुसन्धानका क्रममा तस्कर नाइकेले गर्भवती र बच्चा भएका महिलालाई भरिया बनाएर चरेसको तस्करी गरिरहेको खुलेको छ , प्रहरी उपरीक्षक रेग्मीले भने, ‘बच्चासहित जिउमा लुकाएर चरेस लग्न सजिलो भएकोले उनीहरूले यो तरिका अपनाएको बयान दिएका छन्।उपरीक्षक रेग्मीले भने, ‘यो गिरोहमा अरु पनि संलग्न रहेको आशंका छ, हामीले अनुसन्धान गरिरहेका छौं।’
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनरुवाबाट मंगलबार प्रहरीले जिउमा चरेसको बट्टा बेरेर भारत जाँदै गरेका दुईजना महिलासहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चरेस तस्करीका मुख्य कारोबारी भारतको बिहार चनपटीयाका ६० वर्षीय जहुर आलम , वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनरुवाकी २० वर्षीया अपसना खातुन र इनरुवाकै २५ वर्षीया रेहाना खातुन रहेका छन्। चरेस तस्करीका क्रममा पक्राउ परेकी अपसनाको साथमा आठ महिनाको काखे बच्चा पनि रहेको छ। चेकजाँचको क्रममा उनीहरूको जीउबाट प्रहरीले आधा केजी तौलका २१ वटा प्याकेटमा रहेको १० केजी पाँच सय ग्राम तयारी चरेस बरामद गरेको हो।
गोप्य सूचनाको आधारमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले वीरगन्जको इनरुवामा मंगलबार साँझ पैदल हिँडिरहेको अवस्थामा तीनै जनाको शरीर खानतलासी गर्दा चरेस पाइएको पर्सा प्रहरीले जनाएको छ।अपसाना र रेहनाको कम्मरमा लुकाइएको अवस्थामा क्रमश: १० र ११ प्याकेट गरी कुल २१ वटा प्याकेटमा चरेस बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी दिए।
जाहुरको साथबाट तीन हजार ९६९ भारतीय रुपैयाँ , मोबाइल एक थान, भारतीय सरकारको आधार कार्ड एक थान तथा भारतीय सरकार आयकर विभागको पान कार्ड एक थान बरामद गरिएको उनले बताए।
त्यस्तै, विरगन्जको आदर्शनगर चौकमा भारत, बिहार, पश्चिमी चम्पारण, चनपटिया बस्ने वर्ष २३ की प्रमिला देवीले आर्थिक प्रलोभनमा परी प्लाष्टिकको झोलामा लाऔईन्जेक्सन जम्मा ४५० पिस लुकाई लगिरहेको अवस्थामा पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ।