गत सोमबार राजधानीका विभिन्न निजी अस्पताल तथा क्लिनिकबाट पक्राउ परेका १७ जना विदेशी डाक्टर तथा संचालकलाई प्रहरीले ठगी मुद्धा चलाएको छ।
७ दिन थुनामा राखी उनीहरूलाई अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको इजलाशले थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। गत सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) काठमाडौंका विभिन्न अस्पतालमा आफूलाई डाक्टर बताएर अवैध रूपमा काम गरिरहेका अमेरिका, अस्ट्रेलिया र चीनका नागरिकलाई पक्राउ गरेको थियो।
नेपाल मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको सहयोगमा सिआईबीले उनीहरूलाई पक्राउ गरेको हो।
राजधानीको ठमेलस्थित एपोलो इन्टरनेशनल पोलिक्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल हेल्थ सेन्टर, सिविक हस्पिटल ट्राभल मेडिसिन सेन्टर, चाइना पिपुल्स हस्पिटल, चाइनिज डेन्टल हस्पिटल लगायतका अस्पतालमा अवैध रूपमा काम गरेको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी जिवन श्रेष्ठले बताए।
पक्राउ पर्नेमा चाइना ग्रेटवालका सञ्चालक नारायण तिमल्सिना, लुङ युङचाओ, लुङ गोयुङ, सिविककी प्रतिभा पाण्डे, अस्ट्रेलिय नागरिक सराह एन्ने केम्प, एपोलो पोलिक्लिनिककी सञ्चालक मीनाकुमारी श्रेष्ठ, हुयाङ साओवेन, पान मेई सङ, काई शुसियान, लि लिङहोङ, जेङ सुहवा, लुओ लिमिङ, जियाङ हङ्गेवेई, लिउ जिक्वीन, चाइना पिपुल्स हस्पिटलका जौ जी, वाङ जिङ्लो र चाइना डेन्टलका लि योङमेई रहेका छन् ।
विदेशी डाक्टर नेपालमा अभ्यास गर्न मेडिकल काउन्सिलको अनुमति लिनुपर्ने भएपनि नलिएर चलाएको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको एसपी श्रेष्ठले बताए ।