गएको बिहिबार काठमाडौंको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा एक युवतीमाथि भएको सामूहिक बलात्कारको घटनालाई गुपछुप राख्ने प्रहरीका सई निलम्बनमा परेका छन् भने वृत्तका प्रमुख डीएसपीलाई महानगरीय प्रहरी परिसरमा तानिएको छ।
त्यसैगरी, घटना लुकाउनमा संलग्न प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीलाई प्रहरी प्रधान कार्यालयको १ नम्बर गणमा थुनामा राखिएको छ। उक्त घटनाको छानबिन गर्न महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको नेतृत्वमा समिति गठन गरिएको थियो।
समितिको अनुसन्धानपछि वृत्तमा कार्यरत सई चन्द भण्डारीले घटना लुकाउनमा मुख्य भूमिका खेलेको भन्दै उनलाई निलम्वन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिए।
उनका अनुसार अभियुक्तसँग मिलेर बलात्कार घटनालाई लुकाउन खोज्ने प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीलाई थुनामा राखिएको छ, भने वृत्तका प्रमुख डीएसपी तिलक भारतीलाई अनुसन्धानका लागि महानगरीय प्रहरी प्रहरी परिसरमा तानिएको छ।
‘गम्भीर प्रकृतिको घटना माथिल्लो निकायमा रिर्पोटिङ नगरी लुकाउनु सरासर नियतमा देखियो’, एसएसपी धानुकले भने, अनुसन्धान गर्नकै लागि समिति बनेको छ, अनुसन्धान हुँदैछ।’