प्रधानन्यायाधीश गोपाल पराजुलीले वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीमाथि ज्यान मार्ने धम्की दिएपछि प्रहरीले अनुसन्धान सुरू गरेको छ।
यस विषयमा अनुसन्धान गर्न काठमाडौं प्रहरी परिसरले आफू मातहतको महानगरीय प्रहरी वृत्त बानेश्वरलाई निर्देशन दिएको छ।
प्रधानन्यायाधीश पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता भण्डारीले आजै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए। जिल्ला प्रशासन कार्यालयले छानबिन गर्न पत्राचार गरेपछि काठमाडौं प्रहरी परिसरले त्यस विषयमा अनुसन्धान थाल्न बानेश्वर प्रहरीलाई निर्देशन दिएको हो।
‘घटनाका विषयमा आवश्यक कार्यका लागि हामीले बानेश्वर प्रहरीलाई निर्देशन दिएका छौं,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले सेतोपाटीसँग भने। स्रोतका अनुसार यस विषयमा छानबिन गर्ने अख्तियारी पाएको बानेश्वर प्रहरीले प्रधानन्यायाधीश पराजुलीको कल डिटेल मगाउने छ। पराजुलीले वरिष्ठ अधिवक्ता भण्डारीलाई ज्यान मार्ने धम्की दिएको हो या होइन? पत्ता लगाउने छ।
त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले प्रधान्यायाधीश पराजुलीबारे प्रश्न उठाएपछि अदालतले लगाएको अवहेलना मुद्दामा बहस पैरवी गरेकोमा प्रतिशोध साँधेर आफूमाथि बेलाबेलामा धम्की आएको भण्डारीले निवेदनमा उल्लेख गरेका छन्।
सर्वोच्च अदालतले डाक्टर केसीलाई अदालतको अवहेलना मुद्दा लगाएपछि भण्डारीले केसीको मुख्य वकिलको रूपमा बहस गरेका थिए। बहस सकिएकै दिन पुस २६ गते साँझ पराजुलीले फोन गरेर ‘म तपाईलाई मार्दिन्छु’ भन्दै धम्क्याएको भण्डारीले बताए।