इन्टरनेट प्रदायक कम्पनी वेभ सर्फरले २ जना विदेशी नागरिकसँग ठगी नगरेको प्रष्ट पारेको छ। वेभ सर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालिका संचालक सुरेन क्षेत्रीले आफूहरुले बेलायती र मलेसियन नागरिकलाई ठगी नगरेको दाबी गरेका छन् ।
बेलायती नागरिक विमलानाथन र मलेसियन नागरिक शशि धरणले आफूहरुको १० करोड वेभ सर्फरका संचालकद्धय सुरेन क्षेत्री र सुमन क्षेत्रीले ठगेको आरोप लगाउँदै प्रहरी र अदालत गुहारेका थिए।
उनीहरुले कम्पनीमा आफूहरुको ५१ प्रतिशत सेयर रहेको बताएका थिए। तर सुरेन क्षेत्रीले २००१ मा कम्पनी खोल्नका लागि सहमति भएको र सहमति अनुसार उनीहरुको रकम नपठाएपछि बैंकबाट ऋण लिइ कम्पनी खोलेको बताएका छन् ।
'बेलायती र मलेसियन नागरिकले बढीमा ८ करोडजति रकम १७ वर्षको अवधिमा पठाएका छन्,' उनले सेतोपाटीसँग भने, 'हो उनीहरुले रकम पठाएका छन् त्यो हामी स्वीकार गर्छौ तर एफडिआइ प्रत्यक्ष विदेशी लगानी नगरेका कारण सेयर लगतमा उनीहरुको नाम उल्लेख छैन् ।'
आफूहरुले पटक पटक एफडिआइ गर्न आग्रह गरेपछि बेलायती नागरिक सधै पन्छिने गरेको उनले बताए।
'सेयर लगतमा उनीहरुले नै नाम नलेखाएपछि कम्पनीमा उनीहरुको सेयर छैन् 'उनले भने, 'हामी उनीहरुले पठाएको रकम फिर्ता गर्न तयार छौं ।'
आफूहरु रकम फिर्ता गर्न तयार भएपनि उनीहरु लिनका लागि तयार नभएको उनले बताए। 'उनीहरु रकम फिर्ता लिने मनसायमा छैनन् 'उनले भने, 'हाम्रो कम्पनी हडप्न उनीहरु सक्रिय रहेका छन् । '
उनीहरुले ८ करोड दिएता पनि समयअनुकुल हेरेर १० करोड फिर्ता गर्न आफूहरु तयार रहेको उनले सुनाए।
अहिले २५ प्रतिशत रकम दिएर बाँकी मासिक रुपमा ५ वर्षभित्रमा आफूहरुले तिर्ने सर्त राख्दा उनीहरुले अविस्कार गरेको अर्का संचालक सुमन क्षेत्रीले बताए।
'वेभ सर्फरले २ जना विदेशी नागरिक ठगी गरेको भन्ने विषयमा मेरो ध्यान आकर्षित भएको छ,' क्षेत्रीले भने, 'यसका पछि नलाग्न म हाम्रा ग्राहक, कर्मचारी र सहकार्य संस्थाहरुसँग आग्रह गर्छु ।'