अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय कोहलपुरले दाङबाट सबैभन्दा धेरै मुद्दा शिक्षा क्षेत्रमा परेको जानकारी दिएको छ।
अख्तियारका क्षेत्रीय कार्यालय प्रमुख ईश्वर कार्कीले सो कुराको जानकारी दिएका हुन्।
दाङबाट सबैभन्दा बढी २९ वटा मुद्दा शिक्षा क्षेत्रका रहेको कार्कीले सेतोपाटीलाई बताए। शिक्षा मन्त्रालय मातहतका नेपाल संस्कृत विश्व विद्यालय तथा अन्य शैक्षिक संस्थाहरूका गरि २९ वटा उजुरी शिक्षा क्षेत्रमा मात्रै परेको प्रमुख कार्कीले बताए। दाङबाट शिक्षा पछि वन क्षेत्रमा धेरै मुद्दा परेका छन्।
कार्कीका अनुसार वन तथा भूसंरक्षण मन्त्रालय अन्तरगत २४ मुद्दा, संघीय मामिला तथा स्थानीय विकास अन्तरगत १३ वटा मुद्दा, भूमिसुधार मन्त्रालयसम्बन्धी ७ , सिंचाईसम्बन्धी ७ र स्वास्थ्यसम्बन्धी ६ वटा मुद्दा, कृषि विकास १, गृह मन्त्रालय अन्तगरत १, खानेपानीसम्बन्धी ५, भौतिक पूर्वाधारसम्बन्धी ३, सहरी विकाससम्बन्धी ६, पशुपंक्षीसम्बन्धी ३ र उर्जा मन्त्रालय अन्तरगतको एउटा मुद्दा आयोगमा परेको शाखा अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिए।
दाङबाट साउनदेखि पुस महिना अर्थात ६ महिनाको अवधिमा १०६ मुद्दाहरू परेको उनले बताए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय कोहलपुरको कार्यक्षेत्र रहेको बाँके, बर्दिया,दाङ, रोल्पा र प्यूठानमा सबैभन्दा कम उजुरी प्यूठानबाट परेको कार्यालयले जानकारी दिएको छ। बितेको ६ महिनाको अवधिमा प्यूठानबाट ५ मुद्दा, रोल्पाबाट ३० , बर्दियाबाट १००, दाङबाट १०६ र सबैभन्दा धेरै बाँकेबाट १६९ वटा मुद्दाहरू परेको शाखा अधिकृत खत्रीले बताए। ६ महिनाको अवधिमा कुल ४०६ वटा मुद्दा दर्ता भएकोमा ४० प्रतिशत मुद्दा किनारा लगाइएको उनले सेतोपाटीलाई बताए।
हालसम्म बाँकेमा १९, बर्दियामा ७ र दाङमा ३ वटा स्टिङ अप्रेसन भएको कार्यालयले जानकारी दिएको छ। गतवर्ष दाङबाट ६ महिनाको अवधिमा १०८ वटा मुद्दाहरू दर्ता भएकोमा यसवर्ष उक्त अवधिमा १०६ वटा मुद्दा दर्ता भएको कार्यालयले जानकारी दिएको छ।
यसैबीच अख्तियारका क्षेत्रीय कार्यालय प्रमुख ईश्वर कार्कीले पछिल्लो समय ब्यूरोक्रेसी र जनप्रतिनिधिका बीचको टसलले केही समस्या उत्पन्न भएको बताए। ‘संघीयताबारे नयाँ अभ्यास भइरहेको छ, तर त्यसैमा ठूलो भन्ने टसल सुरू भएको छ,’– कार्कीले भने ‘ अब त्यसमा तपाई हाम्रो ध्यान जान आवश्यक छ।’
यसैबीच उनले पछिल्लो समय अख्तियारको क्षेत्राधिकार कटौती गरेकोप्रति भने असन्तुष्टि जनाएका थिए।