नेपालको इन्टरनेट प्रदायक कम्पनी वेभ सर्फरमा लगानी गरेका २ जना विदेशी नागरिकले आफूहरु ठगिएको भन्दै न्यायका लागि प्रहरी गुहारेका छन् ।
वेभ सर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालिमा लगानी गरेका बेलायती नागरिक विमलानाथन र मलेसियन नागरिक शशि धरणले वेभ सर्फरका संचालकद्धय सुरेन्द्र क्षेत्री र सुमन क्षेत्रीले आफूहरुबाट १० करोड ठगी गरेको बताए।
क्षेत्री दाजुभाइमाथि मलेसियन नागरिकसँग ६ करोड र बेलायती नागरिक विमलानाथनसँग ४ करोड ठगी गरेको आरोप लागेको छ।
यस विषयमा बेलायती नागरिक विमलानाथनले यस विषयमा प्रहरीमा उजुरी दिएका छन् भने मलेसियन नागरिक शशिले उच्च अदालत पाटनमा मुद्दा हालेका छन् ।
कसरी चिनजान भयो बेलायती नागरिकसँगक्षेत्री दाजुभाइका भाइ शैलेन्द्र बेलायतमा काम गर्दथे। उनीमार्फत क्षेत्री दाजुभाइको विमलानाथसँग भेट भयो। उनीहरुबिच नेपालमा इन्टरनेटको क्षेत्रमा काम गर्ने सहमति भयो, बेभ सर्फर खोल्ने। लाइसेन्सदेखिको सम्पुर्ण खर्च विमलानाथनले गर्ने, कम्पनीको रेखदेख क्षेत्री दाजुभाइले गर्ने र त्यस वापत ४९ प्रतिशत शेयर दिन विमलानाथन राजी भए। ५१ प्रतिशत सेयर विमलानाथन आफैँले राखे।
सन् २००१ मा वेभ सर्फर संचालनमा आयो। कम्पनी खोल्न विमलानाथनले बैंकमार्फत रकमहरु पठाउँदै गए ।
२००३ को अगष्टमा विमलानाथनलाई क्षेत्री दाजुभाइले ५१ प्रतिशत सेयर भएको प्रमाणपत्र दिए। सन् २००५ सम्ममा विमलानाथनले ३ करोड पठाए। नाफा भने एक रुपैयाँ पनि पाएनन्। यस विचमा उनी नेपाल आउने जाने गर्दथे।
'क्षेत्री दाजुभाइले कम्पनीमा पुजीँ बढाउने भन्दै रकम माग मात्र गरिरहे, नाफा नभएपछि मैले रकम पठाउन रोके,' विमलानाथनले सेतोपाटीसँग भने।
कम्पनीमा पुजीँ बढाउने भन्दै क्षेत्री दाजुभाई धेरै पटक आग्रह गरेपछि विमलानाथनले सन् २०१४ मा मलेसियन नागरिक शशिलाई वेभ सर्फरमा लगानी गर्न आग्रह गरे। शशिले पटक पटक बैंक मार्फत ६ करोड रुपैयाँ क्षेत्री दाजुभाईलाई पठाए।
सन् २०१६ मा क्षेत्री दाजुभाईले स्काइ केवल टिभी संचालनमा ल्याए। आइएसपी लाइसेन्स पनि लिए। वेभ सर्फरकै कार्यालयमा स्काइ केवल खोलेपछि उनीहरुवीचको विवाद सतहमा आयो।
मलेसियन नागरिक शशिले आफू अन्यायमा परेको र लगानी फिर्ता पाउँ भन्दै उच्च अदालत पाटनमा मुद्दा हाले। अदालतले वेभ सर्फरको बैंक खाता रोक्का गर्न अन्तरिम आदेश सुनाएको छ।
बेलायती नागरिक विमलानाथले महानगरीय अपराध महाशाखामा उजुरी हाले। पछि आएर विमलानाथनले सन २००३ मा आफूले पाएको सेयर धनीको प्रमाणपत्र समेत नक्कली भएको थाहा पाए।
क्षेत्री दाजुभाईको ४९ प्रतिशत सेयर खरिद गर्न खोज्दा १ अर्ब भन्ने, तर आफूहरुलाई लगानी गरेको १० करोड ५ वर्ष लगाएर फिर्ता दिन्छु भन्दा ठगिएको महसुस भएको उनीहरुले बताएका छन्।
मलेसियन नागरिक शशिले वेभ सर्फरमा आफूले गरेको लगानी निकालेर क्षेत्री दाजुभाईले स्काइ केवल खरिद गरेको आरोप लगाएका छन् ।क्षेत्री दाजुभाईले कम्पनीका कर्मचारी तथा आफन्तको नामबाट एकै दिन सिटिजन्स बैंकबाट १० करोड रुपैयाँ निकालेका थिए।