प्रहरीले काठमाडौं उपत्यकाका ५ वटा अस्पतालमा छापा मारेको छ।
ठमेलमा रहेको एपोलो, बौद्धको चाइना ग्रेटवाललगायतका अस्पतालमा छापा मारेर १७ जना विदेशी डाक्टर र ३ सञ्चालकलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ।
'नेपाल मेडिकल काउन्सिलका अनुमति विना केही स्वास्थ्य संस्थाले विदेशी डाक्टर ल्याएर स्वास्थ्थ सेवा दिइरहेका पायौं, 'त्यसैले अस्पतालहरुमा अप्रेसन चलाएका हौं, सिआइबीका डिआइजी पुष्कर कार्कीले सेतोपाटीसँग भने, 'हामी उपभोक्ता र सार्वजनिक चासोका विषयमा ध्यान केन्द्रीत गरिरहेका छौं, 'उनले भने।
अस्पतालहरुमा अप्रेसन चलिरहेकाले यस विषयमा थप जानकारी मंगलबार दिइने डिआइजी कार्कीले बताए। यद्यपी पक्राउ परेका ३ जना सञ्चालकलाई छोडिएको जानकारी दिए।
उनीहरुले नेपालमा मेडिकल काउन्सिलबाट अनुमति नलिइ काम गरिरहेपछि पक्राउ गरेको एसपी जीवन श्रेष्ठले जानकारी दिए। विदेशी डाक्टरले नेपालमा अवैध रुपमा काम गरिरहेको उनले बताए।
पक्राउ परेकाहरु नेपालमा अवैध चिकित्सकीय अभ्यास गरिरहेका बढी रहेको उनले बताए।
पक्राउ पर्नेहरुमा चीन, अमेरिका तथा अस्ट्रेलियाका डाक्टर छन् । नेपाल मेडिकल काउन्सिलका पदाधिकारीलाई लिएर सिआइबीले अस्पतालहरुमा छापा मारेको हो।