काठमाडौंको भृकुटीमण्डपमा प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो हुने भएको छ।
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को आयोजनामा यहि माघ १९,२० र २१ गते एक्स्पो हुने भएको हो।
एक्सपोको उद्घाटन् उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने कार्यक्रम रहेको छ।
एनएफपीजेले हेवी हेल्प लिंकको मुख्य प्रायोजनमा नेपालमा पहिलो पटक प्रिन्टिङ र फोटोग्राफ्रीको एक्पो २०७४ को आयोजना गर्न लागेको बताएको छ।
एक्स्पोमा कुल १ सय वटा स्टलहरू हुनेछन् जसमा १३ ठूला र ८७ वटा साना स्टलहरू हुनेछन् । प्रदर्शनी स्थलमा कार्यशाला गोष्ठी, अन्तरक्रिया, फोटो प्रदर्शनी, फोटो सेसन तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरूको आयोजना गरिनेछ। प्रदर्शनी स्थलमा फुड स्टलको समेत व्यवस्था गरिएको बताइएको छ।
अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरूको यस एक्स्पोमा सहभागिता हुने आयोजकले जनाएको छ। अमेरिका, जापान, कोरिया ,चिन, ताईवान, भारत लगायतका विभिन्न देशका उत्पादक कम्पनीहरूले एक्स्पोमा सहभागिता जनाउनेछन् ।
एक्स्पोमा प्रिन्टिङतर्फ अफसेट प्रेस, फ्लेक्स प्रिन्ट, फोटोग्राफीतर्फ क्यामेरा उत्पादक कम्पनीहरू, फोटो पेपर उत्पादक कम्पनीहरू, फोटो प्रिन्टका विभिन्न मेसिन उत्पादक कम्पनीहरू, मोबाइल, ल्यापटप ,कम्प्युटर, वित्तीयतर्फ बैंक तथा बीमा कम्पनीहरू, फोटोग्राफी तथा फोटोपत्रकारिता सम्बन्धि कलेजहरू, ईष्टिच्यूटहरू, प्रकाशन गृह लगायतको सहभागिता रहनेछन्।