ट्रक ब्याक भएर मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पत्तिको मृत्यु भएको छ।
रुकुम पूर्वको मोरावाङ घर भएका ३२ वर्षीय दीलिप बुढा र ३० वर्षीया सम्झना पुन बुढाको उपचारको क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा दाङमा मृत्यु भएको छ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार कपुरकोट तल्लो बजारमा रा १ ख ९३९ नम्वरको मिनी ट्रकले आइतबार बेलुका साढे ६ बजेतिर उकालोमा चढ्दै गरेको रा ३ प ८५९६ नम्बरको मोटरसाइकललाई ब्याक भएर ठक्कर दिँदा बुढाका पतिपत्नि गम्भीर घाइते भएका थिए। घाइते दुवैजनालाई दाङको तुलसीपुरस्थित राप्ती अञ्चल अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।
दाङतर्फ आउँदै गरेको र उकालोमा रोकिएको रा १ ख ९३९ नम्वरको मिनी ट्रक स्टार्ट नभएपछि चालकले ब्याक गेयरमा स्टार्ट गरेपछि ट्रक ब्याकमा पनि स्टार्ट नभएको र ब्रेक पनि नलागेपछि दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा ३ प ८५९६ नम्बरको मोटरसाइकलमा सवार बुढा दम्पत्तिलाई ट्रकले ठक्कर दिँदा बुढा दम्पत्ति गम्भीर घाइते भएका थिए।
उकालोमा चढ्दै गरेको मोटरसाइकललाई ट्रकले ब्याक भएर किचेको थियो। मृतक बुढा दम्पत्तिले मुसिकोट नगरपालिका १ मा होटल सञ्चालन गर्दै आएको खुल्न आएको छ। व्यापारकै सिलसिलामा बुढाको दम्पत्ति दाङतर्फ आउँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ। ठक्कर दिने मिनी ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।