ट्रक व्याक भएर मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतिको मृत्यु भएको छ।
पुर्वी रूकुमको मोरावाङ घर भएका ३२ वर्षीय दिलिप बुढा र ३० वर्षीय सम्झना पुन बुढाको उपचारको क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको हो।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार कपुरकोट तल्लो बजारमा रा १ ख ९३९ नम्बरको मिनी ट्रकले आइतबार बेलुका साढे ६ बजेतिर उकालोमा चढ्दै गरेको रा ३ प ८५९६ नम्बरको मोटरसाइकललाई व्याक भएर ठक्कर दिँदा बुढा दम्पत्ति गम्भीर घाइते भएका थिए।
घाइते दुबैलाई राप्ती अञ्चल अस्पतालमा पुर्याएलगतै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दाङ तर्फ आउँदै गरेको र उकालोमा रोकिएको रा १ ख ९३९ नम्बरको मिनी ट्रक स्टार्ट नभएपछि चालकले व्याक गेयरमा स्टार्ट गर्न खोजेका थिए। व्याक गियरमा पनि स्टार्ट नभए पछि ब्रेक नलागेर उकालो चढ्दै गरेको मोटरसाईकललाई ट्रकले ब्याक भएर किचेको थियो।
मृतक बुढा दम्पत्तिले मुसिकोट नगरपालिका १ मा होटल सञ्चालन गर्दै आएका थिए। व्यापारकै सिलसिलामा बुढा दम्पत्ति दाङ आउँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ। ठक्कर दिने मिनी ट्रक र चालक तुलाराम घर्तीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।