घोराही उपमहानगरपालिका भित्रका नगरवासीहरूले अब आफ्नै वडाबाटै स्वास्थ्य सेवा पाउने भएका छन्।
नगरवासीहरूलाई स्वास्थ्य सेवामा सहज पुर्याउने उद्देश्यले प्रथम नगर सभाबाट पारित ‘एक वडा, एक स्वास्थ्य केन्द्र’ निति अनुसार अब प्रत्येक वडामा नगर स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ।
उपमहानगरभित्र रहेका १९ वटै वडामा नगर स्वास्थ्य केन्द्र स्थापना गर्ने र स्थानीयलाई आफ्नै वडामा स्वास्थ्यको पहुँच पुर्याउने उद्धेश्य रहेको मेयर नरुलाल चौधरीले बताए।
जसअुनसार वडा नम्बर १ मा काडाखुटी नगर स्वास्थ्य केन्द्र, वडा नं. १७ मा हरिद्वार नगर स्वास्थ्य केन्द्र, वडा नं.६ मा फचकपुर नगर स्वास्थ्य केन्द्र, वडा नं. ३ मा झिंगनी नगर स्वास्थ्य केन्द्र, वड नं. १५ मा नेपाल परिवार नियोजन संघ नगर स्वास्थ्य केन्द्र रहने मेयरले जानकारी दिए।
अन्य वडाहरूमा तीव्र रूपमा स्वास्थ्य केन्द्र स्थापना गरिने चौधरीले बताए। नगर स्वास्थ्य केन्द्रका लागि नयाँ भवन निर्माण ६ वटा नगर स्वास्थ्य केन्द्र स्थापना गर्न ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए। वडा नं. १८ को हात्तिखर्क नगर स्वास्थ्य केन्द्र, हरिद्वार नगर स्वास्थ्य केन्द्र, फचकपुर स्वास्थ्य केन्द्र, आन्द्राभरैया नगर स्वास्थ्य केन्द्र, शिवपुर नगरस्वास्थ्य केन्द्रको लागि ११ लाख रुपैयाँ छुट्टाएको छ भने घोरदौरा नगर स्वास्थ केन्द्रका लागि थप पाँच लाख रुपैयाँ बजेट छुट्याइएको छ।
प्रथम नगरसभाबाट पारित वडा नं १ मा हर्नाेक बाह्य खोप केन्द्र, वडा नं १९ मा पाचँपोखरी बाह्य खोप केन्द्र र दक्षिण तेघरामा बाह्य खोप केन्द्र स्थापना गरिने मेयर चौधरीले बताए। घोराही उपमहानगरपालिकाले तीनवटै खोप केन्द्र निर्माणका लागि प्रत्येक खोप केन्द्रमा तीन लाख रुपैयाँका दरले बजेट छुट्याइएको मेयर चौधरीले जानकारी दिए।
त्यस्तै वडा नं ७ मा सौंडियार स्वास्थ्य चौकी, वडा नं ५ मा धर्ना स्वास्थ्य चौकी, वडा नं १० मा नारायणपुर स्वास्थ्य चौकी, वडा नं २ मा रामपुर स्वास्थ्य चौकी र हापुर स्वास्थ्य चौकी मर्मतका लागि प्रति स्वास्थ्य चौकी एकलाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको उनले बताए।
वडामा स्थापना गरिने स्वास्थ्य केन्द्र मार्फत वडावासीहरूले घर नजिकै आधारभूत स्वास्थ्य सेवाहरू पाउने घोराही उपमहानगरपालिका स्वास्थ्य संयोजक नारायणप्रसाद घर्तीले बताए। नगर स्वास्थ्य केन्द्रहरूमा अबदेखि औषधी र आधारभूत स्वास्थ्य उपचारको व्यवस्थापन गर्न लागिएको उनले बताए। हालसम्म वडामा संचालन गरिएका नगर स्वास्थ्य केन्द्रहरूमा दुई जना स्वास्थ्यकर्मी र एकजना कार्यालय सहयोगीको व्यवस्था गरिँदै आइएको छ ।
यसैबीच घोराही उपमहानगपलिकाले रामपुरको स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी सहरी स्वास्थ्य प्रर्वद्धन केन्द्रका रूपमा विकास गर्न लागेको जानकारी दिइएको छ।