साँखुस्थित शालीनदीमा माधवनारायण व्रत बसेका व्रतालुको परदेश यात्रा चाँगुनारायण पुगेको छ।
माघ कृष्ण त्रयोदशी अर्थात् पुस ३० गते शालीनदीबाट–बज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत गरेर परदेश यात्रा सुरू भएको थियो। माघकृष्ण चतुर्दशीका दिन माघ १ गते व्रतालु साँखुबाट हिँडेरै बज्रयोगिनी र पशुपतिको दर्शन गरिसकेका छन्।
व्रतालुले माघ ८ गते सोमबार श्रीपञ्चमी पर्व मनाइसकेका छन्।
द्रोण नवमीको भोलिपल्ट साँखुबाट चाँगुनारायणमा बास बस्ने गरी परदेश यात्रा गर्ने माधवनारायण व्रत विधि छ। आज व्रतालु चाँगुनारायणबाट साँखुमा बास बस्नेछन्।
माघ १६ गते मंगलवार देव निमन्त्रणा गरी माघ १७ गते बुधबार अश्वमेध यज्ञ अर्थात् व्रत साङ्गे गरिन्छ। माघ १८ गते बिहिबार व्रतालुले माघ गाउने (मिगा पूजा) गरिन्छ। व्रतालुले शिवरात्रिका दिन जाग्राम बस्नुपर्ने नियम रहेको समितिले जनाएको छ।
परदेश यात्राका क्रममा व्रतालु खाली गोडा हिँडेरै जानुपर्ने नियम छ। यसरी हिँडेर यात्रा गर्दा माधवनारायणको मन्त्र जप गर्छन्। यस वर्ष महिला पुरुष गरी १९७ जनाले माधवनारायणको एक महिने कठोर व्रत गरेका छन्।
हेर्नुहोस् तस्बिरमा
सबै तस्बिरहरू : नारायण महर्जन/सेतोपाटी