प्रहरीले रोल्पाबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ।
रोल्पाको थवाङ गाउँपालिकामा वडा नं. ३ तालावाङमा ५० केजी लागू औषधसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। थवाङ गाउँपालिका ३ तालावाङका २२ वर्षीय प्रश्न बुढा मगर र शेरबहादुर बुढा मगर उक्त परिमाणको चरेससहित आइतबार बिहान ३ बजे रोल्पाको घर्ती गाउँबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
५ नं. प्रदेश प्रहरी प्रमुख एवं एआईजी मधुप्रसाद पुडासैनीले लागूऔषधको ओसारपसार नियन्त्रण कार्ययोजना सार्वजनिक गरे लगत्तै प्रहरीलाई यो सफलता हासिल भएको हो । दाङलाई लागू औषध कारोबारीको ‘ट्रान्जिट प्वाईन्ट’ बनाउन खोजिएको भन्दै यही हप्ता मात्रै एआईजी पुडासैनीले आगू औषध ‘कारोबारीलाई सिधा कारबाही अभियान’ सुरू गरेका थिए।
पहाडी जिल्लाहरू रोल्पा, रुकुमबाट गाँजा र चरेस दाङ हुँदै भारत पुग्ने र भारतबाट दाङ हुँदै ट्यावलेट, अफिम, कोकिन लगायतका प्रतिबन्धित लागू औषध भित्रने गरेको हुँदा त्यो नियन्त्रणका लागि सिधा कारवाही गर्न अभियान सञ्चालन गरिएको एआईजी पुडासैनीले बताए।
५ नं. प्रदेश व्यूरोका प्रहरी निरीक्षक अरुणकुमार सिंहको नेतृत्वमा खटिएको टोलीले गोप्य सूचनाको आधारमा रोल्पाको घर्तीगाउँबाट उनीहरूलाई पक्राउ गरेको थियो। पक्राउ परेका दुवैजनालाई चरेससहित घर्तीगाउँ प्रहरीको जिम्मा लगाइएको प्रदेश नं. ५ व्यूरोका हवल्दार बसन्त भण्डारीले सेतोपाटीलाई बताए। यो सफलतासँगै लागूऔषध कारोबारीको ठूलै रहस्य पर्दाफास हुने अपेक्षा प्रहरीले गरेको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।