आउँदो चैत ८ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि आवश्यक उत्तरपुस्तिका लगायतका सामाग्री जिल्लामा पठाउन सुरु गरिएको छ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री जिल्ला जिल्लामा पठाउन थालेकाे परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए।
परीक्षाको तयारी तीव्र पारिएको बताउँदै उनले प्रश्न पत्र छपाइको तयारी भइरहेको र केन्द्र निर्धारण गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए। केन्द्रले यसवर्ष करिब दुई हजार परीक्षा केन्द्र निर्धारण गर्ने तयारी गरेको बताउँदै परीक्षा नियन्त्रक रेग्मीले यसवर्ष परीक्षामा करिब ६ लाख विद्यार्थी सहभागी हुने अनुमानका साथ तयारी गरिएको बताए।
माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नमूना प्रश्नपत्र सार्वजनिक गरेको छ। परीक्षार्थीलाई परीक्षाको अभ्यास गर्न सजिलो होस् भनेर विषयगत नमूना प्रश्नपत्र बनाएर कार्यालयको वेभसाइटमा राखिएको परीक्षा नियन्त्रक रेग्मीले बताए।
एसइई परीक्षा साधारण धारको १७ चैतमा र प्राविधिक धारको २० चैतमा सम्पन्न हुने कार्यतालिकका रहेकाे छ।