सुनिल महतो कालोपुलमा दिनहुँ फलफूल व्यापार गर्थे। काठमाडौं महानगरपालिकाले केही महिनाअघि पुलमा व्यापार गर्न रोक लगायो। त्यसको केही समयमै अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले पुलको बीचमा डोजर चलाएर खाडल खन्यो। र, त्यसै छाड्यो।
त्यो खाडलमाथि स्थानीयले दुईवटा काठ जोडेर पुल बनाएका छन्। त्यही पुलबाट आउजाउ चलिरहेको छ।
महानगरले रोक लगाए पनि साँझ परेपछि सुनिलजस्तै व्यापारी मौका छोपेर तरकारी बेच्न आइपुग्छन्। तर, यही पनि अब लामो समय टिक्ने छैन।
एक सय ११ वर्ष पुरानो यो पुल ढल निर्माण र सुरक्षा कारण देखाउँदै काठमाडौं महानगरपालिकाले भत्काउने निर्णय गरेको छ। पुल भत्काएर शंखमूलदेखि बुढानिलकण्ठसम्म ढल बनाउने महानगरको योजना छ।
स्थानीय भने लामो इतिहास बोकेको कालोपुल सकभर जिर्णोद्वार गरेर सुरक्षित राख्नुपर्ने बताउँछन्।
कालोपुल विसं १९६३ सालमा निर्माण भएको हो। गौशालाबाट सिफल हुँदै ज्ञानेश्वर जाने बाटोमा रहेको यो पुलको नामबाटै कालोपुल भन्ने ठाउँ नामाकरण भएको हो।
पशुपति जान सजिलो होस् भनेर चन्द्रशमशेर पालामा पुल बनेको इतिहास छ। अचेल यहाँ गाडी गुड्दैनन्। गाडी आउजाउ निम्ति करिब ३० वर्षअघि नजिकै अर्को पुल बनेको थियो। नयाँ पुलमा स–साना दुई पेटी त छन्, तर साह्रै साँघुरो भएकाले पैदलयात्रु पुरानै कालोपुल प्रयोग गर्छन्।
कालोपुलमुनि रुद्रमति धोबीखोला छ, जहाँ ढल सोझै जोडिएको छ। यसले खोला कालो देखिन्छ। बाग्मती सभ्यता एकीकृत विकास समितिले ढल निर्माणमा समस्या भएको र जोखिमपूर्ण अवस्थामा रहेको भन्दै कालोपुल भत्काउन डिभिजन सडक कार्यालयलाई चिठी लेखेको छ।
सडक कार्यालय प्रमुख मुकुन्दराज अधिकारी पुरानो कालोपुल भत्काउन आवश्यक भएको बताउँछन्। ‘समितिले पुल भत्काइदिन चिठी पठाएको छ,’ उनले भने, ‘हामी ढल निर्माणमा कुनै समस्या नहुने गरी पुल भत्काउन स्वीकृति दिँदैछौं।’
कालोपुलका स्थानीय तथा श्रीपशुपतेश्वर धार्मिक सेवा समितिका रमेश महर्जन भने ऐतिहासिक पुल संरक्षण गर्दै जिर्णोद्वार गर्नुपर्नेमा जोड दिन्छन्।
‘नयाँ पुल पनि फराकिलो छैन। सवारी साधनकै लागि अपुग छ। यो ऐतिहासिक कालोपुलले मानिसको आवतजावतमा सहयोग पुर्याएको छ,’ उनले भने, ‘समितिले पुल भत्काएर ढल बनाउने भनेको छ। यो भनेको सजिलो उपाय हो। ढल बनाउन यत्रो ऐतिहासिक पुल नै भत्काउन जरुरी थियो कि थिएन बहस हुनुपर्छ।’
समितिले पुल जिर्णोद्वारको सम्भावना विचारै नगरी भत्काउने निर्णय गरेको उनको भनाइ छ। उनको प्रश्न छ, '१११ वर्ष पुरानो कालोपुल जिर्णोद्वार हुन सक्छ भने किन भत्काउने?''
मित्रपार्कका वडा अध्यक्ष शुद्धकुमार डंगोल भने पुल जीर्ण भएकाले दुर्घटनाको जोखिम रहेको बताउँछन्। ‘हामीले फलामले बनेको भनेको पुलको दलिन काठको रहेछ,’ उनले भने, ‘यसलाई भत्काइएन भने दुर्घटनाको खतरा छ।’
उनको भनाइसँग सबै स्थानीय सहमत छैनन्।
सवारी साधन नचल्ने उक्त पुल मर्मतसम्भार गरेर पैदलयात्रुको निम्ति सुरक्षित बनाउनुपर्नेमा स्थानीयको जोड छ।
सुनिलजस्ता व्यापारी पनि पुल भत्काइँदा रोजगार गुम्ने चिन्तामा छन्। ‘सवारी साधन नचल्ने यो पुल जिर्णोद्वार गरे त बरु पैदलयात्रु र हामीजस्ता साना सडक व्यापारीलाई सजिलो हुने थियो,’ उनले भने।
इन्दिरा भट्टराई पनि कालोपुलको एउटा कुनामा तरकारी व्यापार गर्थिन्। महानगरले रोक लगाएपछि पुलपारि पसल चलाउन थालेकी छन्।
‘मैले लामो समय यही पुलमा बसेर तरकारी बेचेँ, अहिले आफ्नै पसल चलाउँदै छु,’ उनले भनिन्, ‘पुल भत्कियो भने धेरै व्यापारीको जीविका खोसिन्छ।’
सडक कार्यालय प्रमुख अधिकारी भने यति जीर्ण पुल मान्छेको आउजाउ र पसलकै लागि भत्काउन नहुने तर्कसँग सहमत छैनन्।
‘अर्को पुल साँघुरो भएकाले विकल्प खोजिनुपर्छ, तर यस्तो जीर्ण पुल पैदलयात्रुको आउजाउ र व्यापारिक प्रयोजनका लागि नभत्काउने भन्ने हुँदैन,’ उनले भने, ‘सरकारी स्थान अतिक्रमण गरेर पसल राख्नु राम्रो पनि होइन।’
जीर्ण कालोपुलले ढल निर्माणमा समस्या ल्याएको बताउँदै उनले भने, ‘कालो पुल भत्काउनु हाम्रो रहर होइन, बाध्यता हो।’