म्याग्दीको पश्चिमी क्षेत्रका बस्तीलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डमा वैकल्पिक सडक निर्माण भएको छ।
बेनी नगरपालिका–७ महारानीथान हुँदै ६ नम्बर वडाको जरबुटा, ५ नम्बरको सेतोढुंगा र ४ नम्बरको डाँडाखेत हुँदै ठूलोखोला जोड्ने सडक निर्माण भएको हो। नौ वर्षअघि बाटो खोल्न सुरु भएको सडक आयोजनाले हालै मात्र पूर्णता पाएपछि ठूलोखोला–बेनी खण्डमा सवारी सञ्चालन गर्न सकिने भएको छ।
साँढे एघार किलोमिटर दूरीको यो सडक बेनी–ठूलोखोला खण्डको वैकल्पिक भएको उपभोक्ता समितिका अध्यक्ष मुक्ति खड्काले बताए। सडकबाट बेनी नगरपालिकाको जरबुटा, सेतोढुंगा, भिरमुनि, डाँडाखेत, राक्से र ठूलोखोलाका बासिन्दा लाभान्वित भएका छन् ।
पहिला साँघुरो र ग्रेड नमिलेको बाटो मात्र खोलिएको सडकलाई बेनी नगरपालिकाको सहयोगमा फराकिलो र सुधार गरेपछि जिप, माइक्रोबस, ट्र्याक्टर चल्न सक्ने भएको छ। उक्त सडकलाई नगरपालिकाले चालू आ.व.मा रू १० लाख विनियोजन गरेको छ।
बेनीदेखि ठूलो खोलासम्म कुनै कारणले बेनी दरवाङ सडक अवरुद्ध हुँदा यो सडकलाई विकल्पको रुपमा प्रयोग गर्न सकिने जनाइएको छ ।