राप्ती बहिरा संघले तुलसीपुरको अरनिको मैदानमा आयोजना गर्ने भनिएको मेला अन्तिममा आएर स्थगित भएको छ।
बिहिबार बिहान तुलसीपुर उपमहानगरपालिकामा बसेको सर्वपक्षीय बैठकले मेला स्थगित गर्ने निर्णय गरेको हो। राप्ती बहिरा संघले श्रवण सुस्त बालबालिकाको लागि छात्रावास निर्माण गर्न आर्थिक जोहो गर्न भन्दै यही माघ १५ गतेदेखि २५ गतेसम्म मेला आयोजनाको तयारी गरिरहेको थियो।
तुलसीपुर क्षेत्रका व्यापारीले आफूहरूको व्यापार चौपट हुने भन्दै मेलाको विरोध गर्दै आएका थिए। यस क्षेत्रका व्यापारीलाई सहयोग पुग्नेगरि मेयर घनश्याम पाण्डेको अध्यक्षता बसेको सरोकारवालाहरूको बैठकले अन्तिममा आएर मेला रोक्ने निर्णय गरेको हो।
यसैबीच, उक्त सर्वपक्षीय बैठकले तुलसीपुर उपमहानगरपालिका भित्रै राप्ती बहिरा संघको छात्रावास निर्माणका लागि तुलसीपुर उद्योग वाणिज्य संघ, राप्ती बहिरा संघ, नगर अपाङ्ग सञ्जाल, व्यवसायीहरू, संघ संस्था , तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा छात्रावास निर्माण गर्ने सहमति भएको छ।
छात्रावास निर्माणको काम यसै आर्थिक वर्षदेखि सुरू गर्ने सहमति पनि भएको छ। त्यस्तै, बैठकले तुलसीपुर उपमहानगरपालिकाभित्र आयोजना गर्ने मेला महोत्सव आयोजनाको लागि आवश्यक मापदण्ड तय गर्ने र सहमतिमा मात्रै मेला महोत्सव आयोजना गर्न पाउने निर्णय गरेको छ।
राप्ती बहिरा संघले लगाउने मेला स्थगित गर्ने निर्णय गर्दै बैठकले पेश्की बापत विभिन्न संघ संस्थालाई प्रदान गरिएको रकम फिर्ता गर्न सामूहिक पहल गर्ने निर्णय पनि भएको छ। तुलसीपुर उपमहानगरपालिकाको संयोजकत्वमा राजनीतिक दल, उद्योग वाणिज्य संघ, सरोकारवालाहरू संघ संस्थाको तर्फबाट संयुक्त रूपमा तुलसीपुर अपाङ्ग बालबालिका हितकोष स्थापना गरि सञ्चालन गर्ने, मेला सञ्चालन गर्नका लागि हालसम्म भएको वास्तविक खर्च, दाङमा भएको खर्चको सामूहिक व्यवस्थापन गर्ने तथा केन्द्रमा भएको खर्च अपाङ्ग सञ्जाल र महासंघको पहलमा व्यवस्थापन गर्ने सहमति भएको छ।