अत्याधिक हुस्सुका कारण महोत्तरीको रामगोपालपुरमा ट्याक्टर पल्टिँदा तीन जनाको मृत्यु भएको छ भने ३३ जना घाईते भएका छन्।
मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका ७ सहसौलाका ४० वर्षीय सत्येन्द्र साह, १८ वर्षीय रामबाबु मण्डल र ४५ वर्षीया सावित्री देवी मण्डल रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।
दुर्घटनामा परी घाईते भएका ३३ जना मध्ये ८ जनाको उपचार अञ्चल अस्पताल जनकपुरमा भइरहेको छ भने २५ जनाको सामान्य उपचारपछि घर फर्केका छन् ।
सरस्वती पूजाको अवसरमा रामगोपालपुर नगरपालिकामा आयोजित बनभोज खाएर ज.१त. ३५१६ नम्बरको ट्याक्टरमा टिकुलिया फर्किने क्रममा सोमबार राति अत्याधिक हुस्सुका कारण अनियन्त्रित भई रामगोपालपुर ८ स्थित थलही सडक खण्डमा पल्टिँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मल्लले बताए।
दुर्घटना पश्चात ट्याक्टरका चालक फरार रहेकोले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।