सल्यानको भएको यात्रु बस दुर्घटनाका चारजना मृतकमध्ये तीन जनाको सनाखत भएको छ।
यो खबर तयार पार्दासम्म रुकुमका दुईजना र सल्यानका एकजनाको सनाखत भएको छ। तर एकजना पुरुषको भने यो खबर तयार पार्दासम्म सनाखत हुन सकेको छैन।
वडा प्रहरी कार्यालय लमहीका प्रमुख लक्ष्मण डाँगीका अनुसार सल्यानको बागचौर नगरपालिका वडा नं. १० निवासी ६८ वर्षीया छञ्चरी विक र रुकुम जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ३ निवासी २४ वर्षीया पुष्पा खड्का केसी र रुकुमकै एकजना १६ वर्ष जतिको खीमबहादुर खड्काको सनाखत भएको बताए।
खीमबहादुर खड्काको घर रुकुम भन्ने एकिन भएपनि उनी बस्ने ठाउँको भने पहिचान भइनसकेको वडा प्रहरी प्रमुख डाँगीले सेतोपाटीलाई बताए।
गम्भीर घाइते पाँच जनालाई सल्यानका मेडिकलहरूमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेको लागि ‘रेफर’ गरिएको जानकारी दिइएको छ। वडा प्रहरी प्रमुख एवं सई डाँगीले उक्त बस दुर्घटनामा परि ३९ जना घाइते भएको बताए।
रुकुमबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना ५ ख ५३१ नम्बरको बस सोमबार दिउँसो सवा दुईबजेतिर त्रिवेणी गाउँपालिका वडा नं. ६ बैघारे खोला नजिकै दुर्घटनामा परेको थियो। बसमा झन्डै ४० देखि ४५ जना जति यात्रु सवार रहेको अनुमान प्रहरीले गरेको छ ।
घुम्तिमा मोड्ने क्रममा बस दुर्घटनामा परेको भन्ने जानकारी प्रहरीले दिएको भएपनि स्थानीयले भने ओभर स्पिडका कारण बस दुर्घटनामा परेको बताएका छन्।
तीव्र गतिका रहेको बस नियन्त्रणमा लिन नसक्दा बस विपरित दिशातर्फ झन्डै १०० मिटर खोलामा खस्न पुगेको स्थानीय प्रभात श्रेष्ठले बताए।