सल्यानमा भएको बस दुर्घटनामा परि चारजनाको मृत्यु भएको छ।
दुईजना पुरुष र दुईजना महिलाको शव घटनास्थलमै फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी भरतबहादुर विकले सेतोपाटीलाई बताए।
घटनास्थल त्रिवेणी गाउँपालिका वडा नं. ६ बैघार खोलाबाट वडा प्रहरी कार्यालय लमहीका प्रमुख लक्ष्मण डाँगीले एकजना महिलाको शव बसले च्यापेको अवस्थामा फेला परेपछि मृतकको संख्या चार पुगेको बताए। ‘घटनास्थलमा दुईजना पुरुष र दुईजना महिलाको मृत्यु भइसकेको छ र बाँकी ३० जना जतिलाई सल्यानको श्रीनगरमा उपचारका लागि पठाएको छु,’ डाँगीले भने।
तर, उनले यो खबर तयार पार्दा सम्म कसैको पनि पहिचान खुल्न नसकेको बताए। दुर्घटनाका घाइतेमध्ये ६ जनाको अवस्था अझै गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
रुकुमबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको मालिका कालिका यातायात प्रालिको ना ५ ख ५३१ नं. बस सोमबार दिउँसो सवा २ बजेतिर लुहामको बैघारे खोलामा दुर्घटना भएको थियो। प्रहरीले घुम्तिमा मोड्ने क्रममा बस दुर्घटनामा परेको भन्ने जानकारी दिएको छ । तर तुहाम निवासी प्रभात श्रेष्ठले भने तीव्र गतिमा रहेको बस चालककै लापरवाहीले गर्दा दुर्घटनामा परेको भन्ने जानकारी घाइते यात्रुले दिएको बताए।
‘ओभर स्पिडमा रहेको बस रङसाइडमा गएर दुर्घटनामा परेको छ, त्यो चालकको गल्ति नभएर के हो त?,’– श्रेष्ठले सेतोपाटीलाई फोनमा भने ‘त्यहाँ कुनै मोडपनि छैन र सामान्य ठाउँमै बस दुर्घटनामा परेको छ’ बस सडकदेखि झन्डै एकसय मिटर तल खसेको छ ।