दाङको तुलसीपुरमा एकजना व्यक्तिले आफ्नै बाबुको हत्यापछि आफैँ झुण्ड्याएर आत्महत्या जस्तो देखाउन खोजेको रहस्य सार्वजनिक भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दुधेना निवासी २९ वर्षीय तेजबहादुर चौधरीले आफ्नै ५२ वर्षीय बाबु बाबुराम चौधरीलाई घाँटीमा खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जानकारी दिएको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाका अनुसार सामान्य घरायसी विवादका क्रममा तेजबहादुरले आफ्नै बाबुलाई पछाडिबाट घाँटीमा खुकुरी प्रहार गरि हत्या गरेपछि घटना छिपाउने आफैँ झुण्ड्याएर आत्महत्या जस्तो गराउन खोजेको अनुसन्धानबाट खुल्न आएको बताए।
‘हत्यापछि घटना लुकाउन तेजबहादुरले बाबु बाबुरामको शवलाई घरको भान्सा कोठामा लगी झुण्ड्याएर आफैँ आत्महत्या गरेको जस्तो देखाउन खोजेको पुष्टी भएको छ’, ईप्रका तुलसीपुरका प्रमुख सापकोटाले भने ‘तर,घटनास्थलमा रगत देखेपछि अनुसन्धान गर्दा बाबुको छोराले नै हत्या गरेको पुष्टी हुन पुग्यो।’
प्रहरी घटनास्थल पुग्दा भुईमा रगत देखेपछि भान्सा कोठामा झुण्ड्याइएको शव निकाल्दा टाउकोमा घाउचोट फेला परेपछि छोरा तेजबहादुरलाई शंका लागेर पक्राउ गरेको थियो।
अनुसन्धानका क्रममा तेजबहादुरले आवेगमा आएर सामान्य विवादमा बाबुको हत्या हुन पुगेको प्रहरी समक्ष स्वीकार गरेको डिएसपी सापकोटाले बताए।
तेजबहादुरकी पत्नी माघीको अवसरमा माइतीमा गएको हुँदा आइतबार राति बाबुछोरा मात्रै घरमा थिए। ‘बाबु बाबुरामले छोरा तेजबहादुरलाई तापनि दिनभर डुलिरहने, तेरो पत्नी पनि माइतीमा बस्ने तर मैले नै सधैँ खाना बनाएर खुवाउने पर्ने? भन्दै छोरालाई राम्रोसँग घरमै बस्न र घरको काम गर्न आग्रह गर्दा छोराले आवेगमा आएर बाबुलाई खुकुरी प्रहार गरेको खुल्न आएको छ,’ प्रमुख सापकोटाले भने।
पक्राउ परेका चौधरी माथि थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।