सोमबार बसन्त पञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईदैछ।
यसै अवसरमा सोमबार देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्नेको भिड लाग्ने गर्दछ। आजकै दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षराम्भ गराउने चलन छ। सरस्वतीको पूजाको दिन अक्षराम्भ गरिए विद्या आउने विश्वास रही आएको छ। यसै अवसरमा विद्यालय तहमा पनि सरस्वती पूजा आराधना गरिएको छ।
चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा विणा लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, बागीश्वरी, कौमारी जस्ता नामले पुकार्ने गर्दछन्। विद्या र सृजनाकी देवी भएकाले जान आर्जन गर्ने साधनको रूपमा रहेको कलम, कापी, कुची र बाद्ययन्त्र आदिलाई पनि सरस्वतीको रूपमा पुजा आराधना गर्ने गरिन्छ।
सूर्य उत्तरतिर लागि लामो दिन हुने र बसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई बसन्त पञ्चमी पनि भन्ने गरिन्छ। ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङगिनी ब्रह्मायणीको ठूलो पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धी र सदबुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूला महत्व छ।
यसैदिन विवाह, व्रतबन्ध, गुफा बस्ने जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने धार्मिक विश्वास समेत रही आएको छ। यसै अवसरमा काठमाडौं उपत्यकाको स्वयम्भू, मैतिदेवी र गैरीधारास्थित नील सरस्वती, ललितपुरको लेलेमा सरस्वती पूजा आराधना गर्नेको घुइँचो लाग्ने गर्दछ। सरस्वतीलाई चढाइएको सात गेडा अक्षता नछोई निलेमा विद्या र वुद्धि वृद्धि भई विद्यादेवीबाट चेतनाको ज्योति पाईन्छ भन्ने धार्मिक विश्वास छ।