अस्पताल चलाउन भनेर बनाएको अत्याधुनिक भवन नेपाली सेनाले व्यापारिक प्रयोजनका लागि भाडामा दिने भएको छ।
काठमाडौंको केन्द्र महांकालमा रहेको त्रिचन्द्र मिलिटरी हस्पिटलका लागि बनाइएको भवन सेनाले एक व्यापारीलाई वार्षिक ५० करोड भाडामा दिन लागेको हो।
एभरेष्ट इन्टरप्राइजेजका सञ्चालक चन्द्रबहादुर श्रेष्ठले १५ वर्षका लागि भवन भाडामा लिने टुंगो भएको छ। भवनको ३ लाख ३० हजारमध्ये २ लाख ८५ हजार वर्गफिट एभरेष्ट इन्टरप्राइजेजले सेनासँग लिएर प्रयोग गर्नेछ।
‘मैले वार्षिक चानचुन ५० करोड रुपैँयामा सो भवन भाडामा लिने सहमति भएको हो। भवनको बाहिरी भाग सम्पन्न भएपछि सेनाले भवन हाम्रो जिम्मामा दिन्छ,’ श्रेष्ठले सेतोपाटीसँग भने, 'हामीले भाडामा लिएको २ लाख ८५ हजार स्क्वायर फिटलाई कसरी प्रयोग गर्ने भन्ने तयारी गरिरहेका छौं।’
भवनको अगाडिको ४५ हजार वर्गफिट भने सेना आफैंले प्रयोग गर्ने श्रेष्ठले बताए।
स्वास्थ्य सेवा प्रयोजनका लागि छुट्टाइएको ४५ हजार वर्गफिट कसरी प्रयोग गर्नेबारे पछि निर्णय गरिने सैनिक प्रवक्ता गोकुल भण्डारीले सेतोपाटीलाई बताए।
‘हामीले प्रयोग गर्ने ठाँउको फिनिसिङ आफैं गर्छौ। बाँकी ठाँउको एभरेष्ट ट्रेडर्सले नै गर्छ,’ भण्डारीले भने,'विगतमा अस्पताल भएको जति ठाउँ स्वास्थ्य सेवाका लागि नै प्रयोग हुन्छ।’
भवन एभरेष्ट ट्रेडर्सलाई भाडामा दिने टुंगो भए पनि अन्तिम सम्झौता हुन बाँकी रहेको भण्डारीले बताए।
भवन बनाउँदा सुरूमा १४ तलाको नक्सा बनाइएको थियो। १४ तले भवन बनाएर सर्वसाधरणलाई समेत गुणस्तरीय स्वास्थ्य सेवा दिने गरी आधुनिक अस्पताल बनाउने निर्णय सेनाले गरेको थियो।
काठमाडौंको केन्द्र र घनाबस्तीको छेउमा रहेकाले यो अस्पतालले विपदमा समेत स्वास्थ्य सेवा दिन सक्ने सेनाको तर्क थियो। भवनको अगाडि टुँडिखेल भएकोले विपदमा थप सहज हुने सेनाले बताएको थियो।
भूकम्पपछि १४ तले भवन नबनाई अण्डरग्राउण्ड र वेसमेन्टसहित ९ तलामा झारियो।
भवनको भाडाबाट आएको पैसाले देशका अन्य ठाँउमा स्वास्थ्य सेवा दिने भण्डारीले बताए।
तत्कालीन प्रधानसेनापति गौरवशम्शेर राणाले १२ वैशाख २०७२ मा भुकम्प नआएको भए भवनको केही तलामा अवकास पाउनु पहिला नै अस्पताल चलाउन चाहेका थिए। राणाले साउनमा अवकास पाए।
त्यसपछि सेनाभित्र यो भवनमा अस्पताल चलाउने कि नचलाउने बहस सुरु भयो।
भवन बनाउँदा अहिलेसम्म १ अर्ब खर्च भएको सेनाले जनाएको छ। सबै काम सक्दा थप एक अर्ब लाग्ने अनुमान थियो।
अस्पतालका लागि सामान किन्न थप ३ अर्ब लाग्ने भएपछि सेना हच्किएको सैनिक श्रोतले बतायो। त्यति लगानी गरेको अस्पताल चलाउन सकिन्छ वा सकिन्न भन्नेमा सेना अलमलियो र अन्तत: ९० वर्ष पुरानो त्रिचन्द्र मिलिटरी अस्पतालको न निर्मित भवनको धेरै जसो भाग व्यापारिक प्रयोजनका लागि भाडामा दिने निर्णयमा पुग्यो।
सो निर्णयलाई लिएर सेना भित्रै पनि असन्तुष्टि छ।
‘९ तले भवनमा राष्ट्रपतिका साथै अन्य उच्च पदस्थ अधिकारीको मात्रै होइन सर्वसाधरणको लागि समेत गुणस्तरिय स्वास्थ्य सेवा दिन सकिन्थ्यो,’ एक सैनिक अधिकारीले भने,’ सेनाले दीर्घकालीन सोचाइभन्दा पनि तत्कालको फाइदा मात्रै खोज्दा भवन व्यापारिक प्रयोजनका लागि भाडामा दिइयो।’
अस्पताल सञ्चालन गर्न बजेट अभाव भए सरकारले सहयोग गर्ने अपेक्षाका साथ तत्कालीन प्रधानसेनापति राणाले भवनलाई पूर्ण रूपमा सेनाकै मातहतको अस्पताल बनाउन चाहेको श्रोतको दाबी छ।
राणापछि राजेन्द्र क्षेत्री प्रधानसेनापति भए। त्यसपछि भवनको केही भागमा मात्रै सेनाले अस्पताल चलाउने अरू भाडामा दिने बहस सुरु भएको हो।
स्रोतका अनुसार सुरूको अस्पताल भएको ठाउँमा सिटी क्लिनिक, औषधि पसल चलाउन अरूलाई नै भाडामा दिने तयारी छ।
सैनिक प्रवक्ता भण्डारीले भने त्यसको उपयोगबारे छलफल हुन बाँकी रहेको दाबी गरे।
९० वर्ष लामो इतिहास बोकेको यो अस्पताल प्रथम विश्वयुद्धपछि ब्रिटिस सरकारको सहयोगमा बनेको हो। घाइते सैनिकको उपचारका लागि अस्पताल बनाइएको थियो। त्यतिबेला यो दक्षिण एसियाकै उत्कृष्ट मिलिटरी हस्पिटलमध्ये मानिन्थ्यो।
भवन १०० वर्ष पुरानो भएको भए भत्काउन वा पुनर्निर्माण गर्न पुरातत्व विभागको अनुमति लिनुपर्छ। ९० वर्ष मात्र पुगेकोले पुरातत्वको सिफारिश नलिकनै सेनाले भवन भत्कायो।
नयाँ भवन बनाउँदा सेनाले महानगरपालिकाबाट नक्सासमेत पास गरेको छैन।