गुल्मीमा रहेका विचित्र सीता गुफा प्रचारप्रसार, उचित संरक्षण तथा आर्थिक अभावले गर्दा दिनप्रतिदिन ओझेलमा पर्न थालेको छ।
मुसिकोट नगरपालिका–१ पौँदीअमराई र इश्मा गाउँपालिका–४ दोहोली सीमाना अन्तर्गतको निस्तिखोलाको किनारामा रहेको गुफाको प्रचारप्रसार र आर्थिक अभावले गर्दा ओझेलमा पर्दै जान थालेको गुनासाे बढेकाे छ।
यस गुफाको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक पनि कम आउने गरेको धार्मिक एवं पर्यटकीय व्यवस्थापन समिति गुल्मीका पूर्वअध्यक्ष चन्द्रबहादुर केसीले बताए। साथै यस गुफामा विष्णु महेश्वर, सीताराम, काग, लालीगुराँस, नाग, हात्ती, पोखरीलगायतका ६१ प्रकारका विभिन्न भगवान्का चित्रण देख्न पाइने पनि उनले बताए।
प्रत्येक वर्षको माघे सङ्क्रान्तिको दिन गुफामा माघी मेला लाग्ने र पूजा आराधनासँगै उक्त दिन गुफाभित्र प्रवेश गराउने, अघिपछि गुफाको अवलोकन गर्न आउनेलाई भने सम्पर्क गरेर जुनबेला पनि गुफा देखाउने व्यवस्था गरिएको उक्त स्थानका जानकार सतिराम कुँवरले जानकारी दिए।
गुफाको महत्वलाई संरक्षण र प्रवद्र्धन गर्नसमेत धौधौ भएको विचित्र सीतागुफा धार्मिक तथा पर्यटकीय व्यवस्थापन समिति गुल्मीका अध्यक्ष डम्मरबहादुर बोहोराले बताए। साथै गुफाले पर्यटकीय तीर्थस्थल र धार्मिक महत्व बोकेकोले पौँदीअमराईको प्राचीन संस्कृति सभ्यता बोकेकोसमेत गुफाका जानकार बताउँछन् ।