सप्तरीको खड्ग नगरपालिकाले शीतलहरका कारण पीडित विपन्न परिवारलाई शुक्रबार कम्बल वितरण गर्नाका साथै नगरको सबै वडामा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको छ।
नगरप्रमुख हेमायु हकले नगरपालिकाको आन्तरिक कोषबाट विपन्न समुदायका लागि एक हजार थान कम्बल तथा रेडक्रस, जिल्ला दैवीप्रकोप उद्धार समिति, बाइबल समाज र एमनेष्टी इन्टरनेसनल नेपालबाट सहयोगस्वरुप प्राप्त ५२३ गरी एक हजार ५२३ थान कम्बल सम्बन्धित वडाका अध्यक्षमार्फत् चिसोपीडित परिवारलाई शुक्रबार वितरण गरेका हुन्।
नगरपालिकाले शुक्रबार नै नगरका सबै वडाका विपन्न बस्तीमा आगो ताप्न दाउरा वितरण गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार तीन सातायताको निरन्तरको शीतलहरले यहाँ हालसम्म १९ जनाको ज्यान गइसकेको छ।