बुधबार सरकारले प्रदेश १ को अस्थायी मुकाम विराटनगरलाई बनाएसँगै बिहिबार बिहानैदेखि धनकुटाबासी आन्दोलनमा उत्रिएका छन्।
बिहिबार बिहानै धनकुटाबासीले विभिन्न क्षेत्रीय कार्यालयमा, डिभिजन कार्यालय लगायतका सरकारी कार्यलयमा आगजनी गरेका छन्।
प्रदर्शनकारी र प्रहरीबीच धनकुटाका मुख्य चोकहरूमा झडप र ढुंगा हानाहान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले थुप्रै राउण्ड अश्रुग्यास प्रहार गरेपनि स्थिति नियन्त्रणमा आउन भने सकेको छैन।
धनकुटाका प्रजिअ प्रेमप्रकाश उप्रेतीका अनुसार निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।
तोडफोड, आगजनी झडप भएकोले मानविय क्षति नहोस् भन्नका लागि निषेधाज्ञा जारी गरिएको उनले बताए। ‘जेरो प्वाइण्ट,अाँखा अस्पतालदेखि त्रिवेणी स्कूलसम्ममा कर्फ्यू जारी गरिएको छ’ उनले भने।
तोडफोड, झडपमा सामान्य घाइते भएपनि कति जनालाई क्षति भएको हो? त्यसको जानकारी भने आफूलाई प्राप्त नभएको उनले बताए।