दाङलाई पाँच नं.प्रदेशको राजधानी नबनाउन षडयन्त्र भएको भन्दै पूर्वपश्चिम राजमार्गको भालुवाङ सडकमै बसेर आमहड्ताल गरिएको छ।
राजमार्गको बीचमा त्रिपाल बिच्छाएर बुधबार बिहानैदेखि भालुवाङबासीले आमहड्ताल गर्दै आएका छन्। जिल्लाको अन्य क्षेत्रका टायर बाल्ने गरिएको भएपनि भालुवाङमा भने हालसम्म एउटा पनि टायर बालिएको छैन। वातावरणीय पक्षलाई हेक्का राखेर टायर नबाल्ने सहमति भएको आन्दोलनको नेतृत्व गरिरहेको राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष जगत पोखरेलले सेतोपाटीलाई बताए।
‘हामी अधिकांश वनसँग जोडिएका व्यक्तिहरू छौं। टायर बालेर आन्दोलन गर्दा सडक पनि बिग्रन्छ र वातावरण पनि प्रदुषण नहुने भएको हुँदा बरु त्रिपाल बिच्छाएरै बीच सडकमा बसेर आन्दोलन गर्ने सहमति भएको हो’ अध्यक्ष पोखरेलले भने।
त्यसैगरी, नेपाली कांग्रेस दाङका जिल्ला सदस्य हरि भुषालले आन्दोलन गर्दा टायर नै बाल्नुपर्छ भन्ने मान्यता विपरीत नयाँ शैली अपनाइएको बताए। ‘टायर बाल्दा कसैलाई फाइदा हुँदैन, बरु त्यसले वातावरण बिगार्छ, सडक बिगार्छ र साना केटाकेटीको मनस्थितिमा पनि नकारात्मक प्रभाव पर्छ,’ कांग्रेस नेता रिजालले भने ‘त्यसैले सबैको सल्लाहमा आमहड्ताल कायम रहँदासम्म टायर नबाल्ने निर्णय गरेका छौं।’
पूर्व-पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ पुलचोकमा उनीहरूबीच सडकमै त्रिपाल बिच्छाएर आन्दोलनमा उत्रिएका छन्। नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय उपसभापति तथा राप्ती गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष ताराबहादुर डिसीले आफूहरू यसरी त्रिपाल बिच्छाएर बीच सडकमै बसेको देखेपछि यात्रुहरूले पनि यसमा समर्थन जनाएको बताए।
‘हामीलाई धेरैले विरोधको नयाँ शैली अपनाएकोमा धन्यवाद दिएका छन्, तर कतिपयले बन्द खोल्न आग्रह पनि गरेका छन्,’– वडा अध्यक्ष डिसीले थपे‘ अप्ठेरोमा परेकाहरूलाई हामीले परिस्थिति हेरेर जान दिएका छौं र अन्यलाई दाङको यो बाध्यता भएको सम्झाउने बुझाउने गरेका छौं।’
उनले दाङको विरुद्धमा षडयन्त्र भएपछि बाध्यताले आन्दोलन गर्नु परेको बताए। नेकपा माओवादी केन्द्रका स्थानीय नेता टोपबहादुर कार्कीले पनि सरकारले दाङबासीलाई झुक्काउने खेल गरेको हुँदा त्यसका विरुद्ध आन्दोलनमा उत्रनु परेपनि वातावरणीय पक्षको ख्याल गर्न आवश्यक रहेको बताए।
नयाँ शक्ति पार्टीका जिल्ला सदस्य सन्तोष कुमार गुप्ताले राज्यले दाङलाई माछो माछो भ्यागुतो जस्तै खेल खेलाउन खोजेको हुँदा त्यसका विरुद्ध आन्दोलन छेडेको बताए । ‘दाङ प्रदेश राजधानीको लागि ५ नं. प्रदेशका १२ जिल्लामध्ये हरेक दृष्टिकोणले उपयुक्त छ, तैपनि अन्तिममा आएर हाम्रो आँखामा छारो हाल्ने दुस्साह भइरहेको छ’ गुप्ताले भने।
दाङ राजधानी घोषणा नहुँदासम्म आन्दोलन फिर्ता नहुने उनको जिकिर थियो। दाङमा भइरहेको आन्दोलनमा नेकपा एमाले दाङसँग आबद्ध कुनैपनि नेता कार्यकर्ताको सहभागिता छैन। तर, दाङको भालुवाङ पुलचोकमा भएको आन्दोलनमा भने छिमेकी जिल्ला अर्घाखाँचीका एकजना नेकपा एमालेका जनप्रतिनिधिको सहभागिता छ। शिव गंगा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष भिम केसी दाङ राजधानी हुनुपर्ने माग गर्दै दंगालीसँगै भालुवाङमा आन्दोलनमा सहभागी भएका छन् ।
यसैबीच पूर्वपश्चिम राजमार्गमै बसेर भइरहेको आमहड्तालमा एकजना किरियापुत्री पनि सहभागी छन्। स्थानीय रामजी गुप्ता त्रिपालभन्दा अलगै परालको चकटी बिच्छाएर सडकै बसेर आन्दोलनलाई सार्थक तुल्याउन लागि परेको नेपाली कांग्रेस दाङका जिल्ला सदस्य हरि भुषालले सेतोपाटीलाई बताए। ‘ किरियापुत्री भएपनि उनले सेतो कपडा लगाउनु भएको छैन, किनकी गुप्ता जातिमा सेतो कपडा लगाउने प्रचलन छैन , तर उहाँ हामीसँगै सडकमै आएर बस्नु भएको छ’ कांग्रेस नेता भुषालले भने।
उनले जबसम्म दाङ राजधानी घोषणा हुँदैन तबसम्म आन्दोलन फिर्ता नुहने बताए। राजमार्ग समेत ठप्प हुँदा भालुवाङदेखि धानखोलासम्म गाडिको लाइन लागेको भन्ने जानकारी दिए ।
‘यात्रुले ठूलो सास्ती खेप्नु परेको छ, तर त्यो भन्दा झनै ठूलो अन्याय हामीलाई परेको कुरा हामीले यात्रुलाई सम्झाउने गरेका छौं,’– भुषलले थपे ‘ दाङ राजधानी घोषणा नहुँदासम्म हाम्रो बन्द कायमै रहनेछ।’ यसैबीच तुलसीपुर अमेलिया सडक खण्डको सिलतपुर क्षेत्रमा स्थानीयले रुख नै ढालेर सडक खण्ड अवरुद्ध पारेका छन् । दाङ राजधानीको माग गर्दै बुधबारदेखि सुरू भएको आमहड्तालका कारण जिल्लाका सम्पूर्ण बजार, यातायात, कल कारखना, शैक्षिक संस्था सबै ठप्प रहेका छन्।