सुनसरीका अग्रज पत्रकार डम्बरबहादुर थापाको आज बिहान इनरुवा–६ मधेशास्थित आफ्नै निवासमा दम रोगका कारण निधन भएको छ।
एकहत्तर वर्षीय थापाले केही सातायता नियमित औषधि सेवन गरिरहेका थिए। निडर पत्रकार थापा पञ्चायतकालमा निष्पक्ष र स्वतन्त्र पत्रकारितालाई अघि बढाउन सफल बनेकै कारण योद्धा पत्रकारका रुपमा कहलिएका थिए। उनले २०४७ फागुन २४ गते योद्धा पत्रकारको उपनामसहित ‘सिर्जनशील पत्रकारिता पुरस्कार’ समेत हात पारेका थिए।
विराटनगरमा स्थापित प्रेस क्लबका संस्थापक सदस्य थापाले ‘मातृभूमि’ साप्ताहिकबाट पत्रकारिताको थालनी गरेका थिए। थापाले ‘प्रगति’, ‘करेन्ट’ लगायत विभिन्न छापामाध्यममा काम गरेका थिए।
थापाले पत्रकारिताका कारण विभिन्न समयमा गरी छ पटकमा तीन वर्ष नौ महिना १७ दिन कारागार भोग्नुपरेको थियो। उनकाे निधनप्रति नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन सुनसरी शाखाले दुःख व्यक्त गरेका छन्।