सोमबार दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ।
अमेलिया तुलसीपुर सडकखण्डमा सोमबार बेलुका भएको सवारी दुर्घटनाका एकजना घाइतेको उपचारका क्रममा मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ निवासी १९ वर्षीय गिरिराज भण्डारीको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारका क्रमम गएराति मृत्यु भएको दाङका निमित्त प्रहरी प्रमुख एवं डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।
नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ५८४९ नम्बरको बसले ओभरट्याक गर्न खोज्दा सोही दिशातर्फ आउँदै गरेको ना ५ ख ५३८४ नम्बरको बसलाई पछाडिको भागमा ठक्कर दिँदा उक्त दुर्घटना भएको डिएसपी घर्तीले बताए।
तुलसीपुर घोराही सडकखण्डको तुलसीपुर १७ विजौरीमा भएको सवारी दुर्घटनामा परि थप एकजनो मृत्यु भएको थियो। विजौरीमा बा ३ ख ९५२१ नम्बरको माइक्रोबस दुर्घटना हुँदा तुलसीपुर–३ श्रीकुला निवासी २२ वर्षीय ज्ञानबहादुर गिरीको मृत्यु भएको थियो। दुर्घटनामा परि थप १२ जना घाइते भएका थिए। उक्त दुर्घटनाका घाइतेमध्ये तुलसीपुर ७ निवासी देवा श्रेष्ठ र तुलसीपुर १७ निवासी पोषण आचार्यको भने नर्सिङहोम बाँकेमा उपचार भइरहेको डिएसपी घर्तीले बताए। अन्य १० जना भने उपचारपछि घर फर्केको प्रहरीले जानकारी दिएको छ।
घोराहीमा भएको अर्काै दुर्घटनामा परि ३३ जना घाइते भएका थिए। घोराही १५ रतनपुरमा तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ ख १४६० नम्बरको बस र घोराहीबाट तुलसीपुर आउँदै गरेको ना ३ ख ५४४७ नम्बरको यात्रुबाहक बस एक आपसमा ठोक्किँदा घाइते भएका ३३ जना मध्ये एक जनाको भारतको लखनऊ र थप चार जनाको भने मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
त्रिवेणी गाउँपालिका वडा नं. ९ रोल्पा निवासी रीता विकको लखनऊमा उपचार भइरहेको निमित्त प्रहरी प्रमुख घर्तीले जानकारी दिए। बाँकेको कोहलपुरमा उपचार गराइरहेका चार जनामध्ये नारायणपुर दाङका दुई जना र घोराही बजार क्षेत्रका दुईजना रहेको प्रहरीले जानकारी दिएको छ।
चाडपर्वमा यहाँ लाग्ने मेला पर्वमा अत्यधिक यात्रुको चाप हुनु, बढी कमाउने लालचले सवारी चालकले तीव्र गतिले सवारी हाँक्नु, सडक साँघुरो हुनु जस्ता कारणले यतिधेरै दुर्घटना माघीको दिनमा भएको निमित्त जिल्ला प्रहरी प्रमुख रामप्रसाद घर्तीले बताए ।