दाङस्थित बेलझुण्डी क्षेत्रमा रातारात टहरा निर्माण हुन थालेपछि बेलझुण्डीबासीले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन्।
प्रदेश नं. ५ को संभावित प्रदेश राजधानी बन्ने चर्चा पाएको तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ स्थित सक्राम खोला किनारमा रातारात टहराहरू निर्माण हुन थालेपछि स्थानीयले त्यस्ता कार्य रोक्न स्थानीय निकाय तथा स्थानी प्रहरी प्रशासनलाई गुहारेका हुन्।
आइतबार स्थानीय ८५ घर परिवारले एक अपिलमार्फत तुलसीपुर १७ स्थित निमुवार गाउँको पूर्वतर्फ र नेपाल संस्कृत विश्व विद्यालयको पश्चिम तर्फको सक्राम खोलाको किनार बेलझुण्डी क्षेत्रमा सुकुमबासीको नाममा भू–माफियाहरूले जग्गा कब्जा गर्न थालेको भन्दै त्यो रोक्ने स्थानीयले आग्रह गरेका छन्।
५ नं. प्रदेशको राजधानी बेलझुण्डी बन्ने चर्चाकै कारण भू–माफियाहरूले आर्थिक चलखेल गर्ने मनसायले सुकुम्वासीको नाममा अन्यत्र घर जग्गाहरू भएका आएर हैकम जमाउन खोजको भन्दै तत्काल त्यो रोक्न स्थानीयले माग गरेका छन्। स्थानीय विनायक बस्नेतले त्यहाँ बस्नेहरूले रातारात घर टहरा निर्माण गरेको र दिउँसोमा हटाउँदा फेरि रातारात निर्माण गर्ने गरेको बताए।
त्यस क्षेत्रमा तुलसीपुर उपमहानगरपालिकाको ४ परिवार र रुकुमको एउटा परिवारले टहरा निर्माण गरि जग्गा हडप्ने योजना बनाएको बस्नेतले बताए। तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर माया आचार्यले अतिक्रमणमा परेको सक्राम खोला किनारमा गएर त्यहाँ नबस्न आग्रह गर्दा पनि उनीहरूले मानेका छैनन्।
खोला किनारमा बस्दा भोलि बाढीको समयमा जोखिम बढ्ने, मानविय तथा भौतिक क्षति हुने भएको हुँदा नगरपालिकाले कुनै सुरक्षित स्थानमा बसोबास गराउने भन्दै उनले त्यहाँ मनपरी घर टहरा नबनाउन आग्रह गरेकी थिइन्। त्यति गर्दा पनि घर टहरा रातारात निर्माण गर्ने क्रम बढ्दै गएपछि आइतबार स्थानीय ८५ जना घरपरिवारले हस्ताक्षर गर्दै तुलसीपुर उपमहानगरपालिका, दाङका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख दाङ, जिल्ला समन्वय समिति दाङलाई बेलझुण्डी क्षेत्रमा दुईचार दिनयता मनपरी जग्गा हडप्ने र घर टहरा निर्माण गर्ने क्रम रोक्नका लागि आग्रह गरेका छन्।
‘गाउँले पहिले सम्झाउन खोज्यौं, तर उनीहरूले मानेनन्,त्यसैले कानूनी बाटो अपनाएका हौं,’–स्थानीय विनायक बस्नेतले भने ‘उक्त स्थान गौचरण हो र वस्तु चौपायालाई पानी खुवाउने स्थान हो,’ उनले उक्त स्थानमा सुकुम्वासीको नाममा मनपरी हुन थालेको हुँदा गाउँलेहरू चिन्तित बनेको बताए ।