२०७३ सालको पुस महिनाको ५ गते रुपन्देहीमा युवा संघका अध्यक्ष दुर्गा तिवारीको गोली हत्या भयो। घटनाको जिम्मेवारी मनोज पुनले लिए।
अनुसन्धानका क्रममा प्रहरीले पुनसँगै उनका सहयोगीहरुसमेत पत्ता लगायो। सहयोगीहरु थिए सोमबहादुर आले, तुलवहादुर सिन्जाली र थर खुल्न नसकेका एक जना राजु नाम गरेका सुटर। तिवारी हत्यामा प्रहरी सुचीमा रहेका हत्या आरोपित सिन्जाली भने एक वर्ष पछि पक्राउ परेका छन् ।
कतार प्रहरीले पक्राउ गरेर शनिबार सिन्जालीलाई नेपाल प्रहरीलाई बुझाएको छ। नेपाल प्रहरीका इन्टरपोल शाखाकी प्रमुख एसपी किरण बज्रार्चायले तिवारी हत्यापछि सुरक्षित स्थानको खोजी गर्दै सिन्जाली कतार पुगेपछि इन्टरपोलमार्फत उनलाई पक्राउ गर्न पत्राचार गरेकी थिइन् ।
रेडकर्नर नोटिसमा रहेका सिन्जालीलाई कतार प्रहरीले 'एयर स्कट' गरेर नेपाल पठाएको थियो। शनिबार साढे ४ बजेतिर सिन्जालीलाई लिन एसपी बज्राचार्यसहितको टोली विमानभित्रै पसेर नियन्त्रणमा लिएको थियो।
तिवारीको हत्या भएको एक महिनापछि सिन्जाली वैदेशिक रोजगारीका लागि भन्दै कतार पुगेका थिए। महाराजगन्जमा रहेको आयुष म्यानपावरबाट अप्टिकल फाइबर सम्बन्धि काम गर्ने कम्पनीमा उनी २०७३ साल माघ ५ गते कतार गएका थिए।
हत्या भएको १ महिनासम्म प्रहरी अनुसन्धान फितलो हुदाँ उनी पक्राउ पर्न सकेनन् । सुरक्षा घेरा तोड्दै उनी त्रिभुवन विमानस्थल हुदैँ कतार पुगेका थिए। कतार पुगेर केही महिना कम्पनीमा काम गरेपछि उनी हुन्डी ब्यवसायमा संचालन हुदैँ आएको स्रोतले जनाएको छ।
कतार प्रहरीको १० दिन हिरासतमा बसेपछि उनलाई नेपाल पठाइएको थियो। तिवारी हत्यामा सिन्जालीले हतियार लुकाउन मुख्य भुमिका खेलेको प्रहरीले जनाएको छ। तिवारीको हत्यापछि मोटरसाइकलमा भागेर आएका सुटरहरुले सिन्जालीलाई हतियार लुकाउन दिएका थिए।
तिवारी हत्यापछि सिन्जालीलाई मनोज पुनले नै विदेश पठाउने चाजोपाँचो मिलाएका थिए। म्यानपावरलाई पैसा बुझाउनुको साथै कतारमा रहेका सिन्जालीलाई पुनले बेलाबखतमा आर्थिक सहयोग गरिरहेको प्रहरी स्रोतले जनायो।