तुलसीपुरको बसपार्कलाई गुरुयोजना अनुरुप विकास गर्ने कार्य तीव्र रूपमा भइरहेको छ।
निर्माण सुरू भएको एकाध महिनामै धमाधम सपिङ काउण्टर निर्माणको कामले तीव्रता पाएको छ। पातुखोलास्थित बसपार्कमा हाल विद्यमान (पुराना) टिकट काउण्टरको अगाडि निर्माणको जिम्मा लिएका व्यक्तिले एक महिनाको अवधिमै गरेको काम तीव्र गतिमा भइरहेको मान्न सकिने तुलसीपुर उपमहानगरपालिकाका ईञ्जिनियर पवन योगीले बताए।
ईञ्जिनियर योगीका अनुसार २ करोड ४४ लाख २२ हजार रुपैयाँको लागतमा २२ वटा सटरको सपिङ स्टल निर्माण गर्ने काम धमाधम भइरहेको जानकारी दिए। व्यापारिक प्रयोजनका लागि उपमहानगरपालिकाले यी सटरहरू निर्माण गर्न लागेको हो। सटर निर्माण कार्य पूरा भएमा उपमहानगरपालिकाले टेण्डर आह्वान गरि यी सटर भाडामा लगाउने ईञ्जिनियर योगीले बताए।
तुलसीपुर उपमहानगपालिकाका इञ्जिनियर पवन योगीका अनुसार गुरुयोजना अनुरुप पहिलो चरणमा निर्माण गर्न थालिएको टर्मिनल विल्डिङ र सपिङ स्टल कुल भ्याट बाहेक ९ करोड ९ लाख ९० हजार ९ सय ५८ रुपैयाँ ५३ पैसामा निर्माण भइरहेका हुन्। काम सुरू भएको मितिले १५ महिनाभित्र काम सम्पन्न गर्ने गरि पहिलो चरणको निर्माणको जिम्मा शिवशक्ति निर्माण सेवा काठमाडौंले लिएको छ।
ईञ्जिनियर योगीका अनुसार गत वैशाख ५ गते उपमहानगरपालिकाले गुरुयोजना अनुसार बसपार्क निर्माणको कार्य थालनी गर्न कार्यादेश दिएको थियो। तर, गुरुयोजना अनुरुप बसपार्क निर्माणको लागि शिलान्यास भने कार्यकारी अधिकृत टोपेन्द्र केसीले जेठ २९ गते मात्रै गरेका थिए।
गत असारदेखि बसपार्कको दक्षिण भागमा ३ करोड १६ लाख ९८ हजार रुपैयाँ लागतमा टर्मिनल विल्डङ निर्माणको काम सुरू भएको थियो। जसभित्र टिकट काउन्टर, रेष्टुरेष्ट, प्रशासनिक भवन, हेल्प डेक्स र बीचमा बगैँचा निर्माण हुनेछ। उक्त टर्मिनल भवन निर्माणपछि सार्वजनिक शौचालय निर्माण, वरिपरी सडक र सडकबत्ती निर्माण गरिने छ। तर, हालको टिकट घर नजिकै निर्माण भइरहेको सटर निर्माणको काम भने कात्तिक अन्तिम सातादेखि सुरू भएको हो।
लगभग मंसिरको महिनादेखि सुरू भएको सटर निर्माणको गारा उठाने काम झण्डै पूरा भएको निर्माण कम्पनीले जानकारी दिएको छ।
यही गतिमा काम धमाधम भएमा अबको १५ महिनापछि तुलसीपुर बसपार्क नयाँ स्वरुपमा देखिनेछ। बजारमा अवस्थित तुलसीपुरको यो बसपार्क २०५३ साल फागुनमा हालको उपमहानगरपालिकाको सम्मुख रहेको उद्यानबाट स्थान्तातरण गरि पातुखोलामा लगिएको थियो। जसको भौतिक स्वरुप निकै नाजुक थियो।
बहुवर्षिय योजनाअन्तरगत २०७० सालको गुरुयोजना अनुरुप तुलसीपुर बसपार्कलाई आधुनिक स्वरुपको निर्माण गर्न झण्डै ३४ करोड रुपैयाँको स्टिमेट गरिएको ईञ्जिनियर योगीले बताए।
हाल पहिलो चरण अन्तरगतका संरचना निर्माण भइरहेको भएपनि गुरुयोजना अनुरुप सबै संरचना निर्माणमा भने अझैं केही वर्ष लाग्ने आंकलन गरिएको छ ।