राजधानी बन्ने र नबन्ने हल्लासँगै दाङको जग्गा कारोबारमा व्यापक उतारचढाव आउने गरेको छ।
सेयर बजार झै यतिबेला दाङमा जग्गाको भाउमा व्यापक गिरावट आएको छ। प्रदेश नं. ५ को राजधानी दाङकै लमही क्षेत्र हुने कि बुटवल पनि हुनसक्ने हल्ला व्याप्त बनेपछि तुलसीपुरको बेलझुण्डी क्षेत्रमा जग्गाको कारोबार ह्वात्तै घटेर गएको छ।
त्यही हल्लाकै कारण घर जग्गामा लगानी गरेकाहरू अन्यौलमा छन्। जग्गाको कारोबारीहरूले बेलझुण्डी क्षेत्रको आसपासमा आफूले प्लटिङ गरेको स्थानमा ‘५ नं. प्रदेशको राजधानीमा यहाँलाई स्वागत छ’ भन्ने सम्मका साइनबोर्डहरू स्थापना गरि धमाधम प्लटिङ सुरू गरेका थिए।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी ४२ वर्षीय टेकराज वलीले बेलझुण्डीमा राजधानी बन्ने हल्ला व्याप्त बन्दा रातारात चार गुणासम्म महंगिएको जग्गाको भाउ फेरि राजधानी अन्तजाने हल्लासँगै ह्वात्तै घटेको बताए। ‘राजधानी बेलझुण्डी नबस्ने हल्ला चल्दा सेयर बजारका सबै परिसूचक झरे जस्तैगरि यहाँ जग्गाको भाउ रातारात ह्वात्तै झर्ने गरेकोछ,’ वलीले भने।
नेपाली कांग्रेसको सरकारले अपजस खेप्न एक्लै प्रदेश राजधानी तोक्न दुस्साहास नगर्ने भनेपछि जग्गा खोज्नेहरू आउन छोडेको वलीले बताए। वामगठबन्धनको पक्षमा बहुमत रहेको हुँदा प्रदेशसभाले प्रदेश राजधानी तोक्दा दाङको बेलझुण्डी राजधानी बन्दैन भन्ने हल्ला व्याप्त बनेसँगै जग्गाको मूल्य ह्वात्तै घटेको स्थानीय ३५ वर्षीय बहादुर सिंह कार्कीले बताए।
‘अब दाङकै लमहीतिर राजधानी जानसक्छ र बुटवल पनि जानसक्छ भन्ने हल्ला व्याप्त भएको छ अनि त्यसले जग्गाको कारोबार पनि सेलाएको छ,’ कार्कीले भने। त्यही हल्लाकै कारण पछिल्लो दिनमा घडेरी खोज्न कोही नआएको र जग्गाको भाउ फेरि सस्तो भएको कार्कीले बताए।
‘अहिले यहाँ सुनसान छ, पहिले झैं गाडिका गाडि र हुलकाहुल मानिसहरू जग्गा खोज्न आएका छैनन्,’ कार्कीले भने। राजधानी बन्ने हल्ला व्याप्त बन्दा स्थानीय धेरैले माघ र फागुनसम्म भाका राखि जग्गाको बयान बुझेको स्थानीय सीता बस्नेतले बताइन्। उनले आफ्ना आफन्तले समेत माघ मसान्तसम्मको भाका राखेर ३० प्रतिशत रकम बुझेको बताइन्।
‘जग्गा खोज्न अब त मान्छे जो आन्नन्’– बस्नेतले भनिन् ‘केहीदिन पहिले त विचौलियाको बिगबिगी थियो।’ तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ झिंगै निवासी बस्नेतले झन्डै एक महिनाअघि संभावित राजधानी बस्ने बेलझुण्डीस्थित भवनको आसपासमा हुलका हुल मानिस घर घडेरी खोज्न आउने गरेको भएपनि आज त्यो रोकिएको बताइन्।
सबैभन्दा धेरै मानिस रोल्पा, रुकुम, सल्यान, प्यूठान, गुल्मीबाट घर घडेरी खोज्न बेलझुण्डी क्षेत्रमा मानिसहरू आउने गरेतापनि पछिल्लो समय त्यो क्रम रोकिएको स्थानीय पत्रकार राकेश बस्नेतले बताए। राजधानीको चर्चा रहँदा आफ्नो मनिकापुरमा रहेको पुर्खेउली जग्गासहितको घर बेच कि बेच भनेर दिनहुँ मानिसहरू आउने गरेतापनि पछिल्लो समय सोधीखोजी गर्न आउने संख्या नगन्य रहेको उनले बताए।
‘बुवाले मनिकापुरबाट दिनहुँजसो जग्गा बेच्ने कि के गर्ने? भन्ने सोध्ने गर्नुहुन्थ्यो तर केहीदिन भयो उहाँले फोन गर्नु भएको छैन,’ पत्रकार बस्नेतले अगाडि भने ‘ बुवालाई ५ गुणा बढी मूल्य दिन्छौं भनेर आश्वासन दिनेहरू आज आउन छोडेका छन्।’ राजधानीको चर्चा भएको समयमा रातारात जग्गाको भाउ जसरी आकाशिएको थियो पछिल्लो समय त्यसैगरी जग्गाको भाउ ओरालो लागेको बस्नेतले बताए।
राजधानीको चर्चा चुलिएको समयमा जग्गा किन्ने र बेच्नेका बीचमा भेटघाट नै हुन नदिएर विचौलियाको भरमा धेरैले बयान बुझेको बस्नेतले जानकारी दिए। कतिपयले एक रुपैयाँ नदिएरै माघ मसान्तभित्र रकम दिउँला भन्ने बाचा गरेर जग्गा रोकाउनेसम्मका काम विजौरी क्षेत्रमा भएको पत्रकार बस्नेत बताउँछन्। ‘तीन तह पार गरेपछि मात्रै जग्गाको कारोबार हुँदो रहेछ। मेरै जग्गा रातारात ५ लाख बढी दिन्छु भन्ने आए, तर मैले बेचिन,’ पत्रकार बस्नेतले भने।
यसैबीच, राजधानी बन्ने भनि चर्चा पाएको बेलझुण्डी नजिकै तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मा ३१ कठ्ठा जग्गा खरीद गरि प्लटिङ गरेका तुलसीपुर निवासी मिनराज वली र घोराही निवासी ऋषिराम रिजालले त्यही हल्लाकै कारण पछिल्लो समय घडेरी विक्री रोकेको बताए।
‘हल्लै हल्लाले जग्गाको भाउमा एकाएक उतारचढाव आउने गरेको छ,’– व्यवसायी वलीले भने ‘एक हप्तामै मिटरको अढाई लाख रुपैयाँको दरले २३ वटा घडेरी विक्री भएपनि नकारात्मक हल्ला चलेपछि घडेरी बिक्न छोडेको छ।’
उनले आफूले प्लटिङ गरेको स्थानमा अझै ४७ घडेरी रहेको भएपनि राजधानी बाहिर जाने हल्ला चलेपछि एकजना पनि घडेरी खोज्न नआएको बताए। ‘बेलझुण्डीमा प्रदेश राजधानी बस्ने हल्ला चल्दा बुटलव, नेपालगञ्ज, जनकपुर र काठमाडौंसम्मका मानिसहरूले घडेरी चाहियो भनेर फोनहरू आउने गर्दथे तर आज राजधानी अन्तै जाने हल्लापछि त्यो क्रम रोकिएको छ,’ वलीले भने।
५ नं. प्रदेशको राजधानीमा यहाँलाई स्वागत छ लेख्दै बोर्डस्थापना गर्नेमा एकजना वली पनि हुन्। उक्त बोर्डमा उनले प्रदेश राजधानी बस्ने भनि चर्चा पाएको बेलझुण्डीस्थित संस्कृत विश्वविद्यालयको भवन, सम्भावित मन्त्रालय बस्ने भवन, यहाँका प्रमुख पर्यटकीय र धार्मिकस्थल तथा दाङको आदिवासी जनजाति थारु जातिको पहिचान झल्कने कुरा समेत उक्त बोर्डमा समावेश गरेर ग्राहक आकर्षित गर्न खोजेका छन्।