काठमाडौंको पुरानो बस्ती भएका भित्री सडकमा माघ २ गतेदेखि चार पाङग्रे सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ।
अतिव्यस्त र साघुरा गल्ली भएको भोटाहिटी तथा असनलगायत क्षेत्रका भित्री बस्तीका सडकमा चार पाङग्रे सवारी साधन सञ्चालन गर्न नपाइने भएको हो। पौराणिक तथा क्षेत्र विशेषको मौलिकतालाई बढ्दो सवारी चापले अतिक्रमण गरेको भन्दै काठमाडौं महानगरपालिकाले पुरानो बस्ती भएको भित्री सहरी क्षेत्रका सडकमा चार पाङग्रे सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
काठमाडौं महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष निलकाजी शाक्यले विशेष गरेर सम्पदा संरक्षण, पर्यटक क्षेत्र विस्तार र ऐतिहासिक सम्पदा संरक्षणका लागि गरिएको प्रयास भएकाले सबै मिलेर सफल पार्नुपर्ने बताए।
भोटाहिटीदेखि असनसम्मको दुईतर्फी सडक, इन्द्रचोक, भेडासिंह, ज्याठा, महावौद्ध तथा वटुका सडकमा चारपाङ्ग्रे सवारी प्रवेशमा पूर्ण रोक लगाइने भएको छ। नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म एकतर्फी रूपमा चारपाङ्ग्रे सवारी लैजान सकिनेछ। यसरी एकतर्फी गरिएका अन्य सडकमा टेङ्गालबाट बाङ्गेमुढा, भेडासिंह हुँदै इन्द्रचोकसम्मको सडक, क्षेत्रपाटीबाट ठँहिटी हुँदै नघल बाङ्गेमुढा, भेडासिंह हुँदै इन्द्रचोकसम्मका रहेका छन्।
महानगरले मौलिकता संरक्षणका लागि भन्दै चार पाङग्रे सवारी साधन प्रवेशमा रोक लगाउने निर्णय गरेपनि त्यस क्षेत्रमा जानेका लागि सवारी साधन पार्किङ स्थलको व्यवस्थापन भने गरेको छैन।