जुम्लाबाट नेपालगन्ज हुदैँ भारत लैजान लागिएको अवस्थामा प्रहरीले २० जना बालकको उद्धार गरेको छ। जुम्लाबाट नेपालगंजतर्फ जाँदै गरेको ना.५ ख ४५२९ नम्बरको यात्रुवाहक बसमाबाट प्रहरी चौकी कुडारीले २० जना बालकहरुको उद्धार गरेको छ।
बालकहरु ८ देखि १५ बर्ष उमेर समूहका छन्। प्रहरीले बालकहरु लैजाने राठी गाउँपालिका–३ छुमचौर बस्ने ३२ वर्षीय कर्म तामाङ र २९ वर्षीय छिरिङ तामाङलाई पक्राउ गरेको छ ।
पक्राउ परेका दुवैले परिवारको सहमतिमा बालकहरुलाई हिमान्चल प्रदेशको गुम्बामा पढ्नका लागि लैजान लागेको बताएका छन्।
प्रहरीले भने लैजाने प्रक्रिया नपुगेको र चोर बाटोबाट लैजान खोजेको आरोप लगाएको छ।
'उनीहरुलाई भारतको विभिन्न गुम्बामा लैजान लागिएको रहेछ, अनुसन्धानका क्रममा हामीले पत्ता लगायौं, अहिले परिवारका सदस्यहरु बोलाएर छलफल गरिरहेका छौं, 'जुम्ला प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक चुडामणी पुनले सेतोपाटीसँग भने।
उद्धार गरिएका बालकहरुलाई होटलमा राखिएको छ। महिला तथा बालबालिका सेलमा उनाीहरु नहट्ने भएपछि होटलमा राखिएको पुनले बताए।
'हामीले जिल्ला बालकल्याण समितिसँग पनि यस विषयमा छलफल गरिरहेका छौं,' प्रहरी निरीक्षक पुनले भने। जुम्ला लगायतका आसपासका जिल्लाहरुमा भारतमा लैजाने बालबालिकाकै गिरोहहरु सक्रिय रहेको प्रहरीले जनाएको छ।