मुक्त कमलरी विकास मञ्चले मालिकको घरमा मृत्यु भएका कमलरीहरुको बारेमा अनुसन्धान गरि न्याय दिन सरकारसँग माग गरेका छ। दाङको घोराहीमा मंगलबार आयोजित माघी मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागि मुक्त कम्लहरीहरुले अझैं पनि दासत्वको प्रतिक कम्लहरी प्रर्था उन्मुलन हुन नसकेको भन्दै चिन्ता जाहेर गरेका थिए।
लुकाई छिपाई जिल्ला बाहिर ठूला सहरमा लैजाने र त्यहाँ कम्लहरीको रुपमा राख्ने चलन ठूला बडाबाट हुँदै आएको हुँदा त्यो रोक्नु सबैले सहयोग गर्न आवश्यक रहेको सहभागिहरुले बताएका थिए।
त्यस्तै मञ्चका पदाधिकारीहरुले विगतका दिनमा मालिकको घरमा काम गर्दैगर्दा सात जना कम्लहरीको मृत्यु भएको भए पनि अझैंसम्म उनीहरुका परिवारले न्याय नपाएको गुनासो गरेका छन्। राज्यले पीडितका परिवारलाई न्याय दिन गम्भीरता नदेखाएको भन्दै त्यसमा सरोकारवालाहरु गम्भीर बन्न आग्रह गरिएको छ।
थारू बहुल जिल्लाहरु दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा कम्लहरी बस्दा विभिन्न समयमा सात जना बालिकको मृत्यु भएको लामो समय बितेपनि राज्यले अनुसन्धान र पीडित परिवारलाई न्याय दिन नसकेको प्रति उपस्थितहरुले आक्रोश व्यक्त गरेका थिए।
राज्यसँग ती घटनाहरुको अनुसन्धान र छानबिन गर्ने सहमति भए पनि राज्यले आवश्यक चासो नदेखाएको भन्दै मञ्चले सरकारलाई उचित छानबिन र अनुसन्धानको लागि पुनः ध्यानआकर्षण गराएको छ।
त्यसैगरी मालिकको घरमा बसेका कुमारी आमाहरुको व्यवस्थापन, न्याय, बेपत्ता कम्लहरीको खोजी र छात्राबृत्तिमा बृद्धिगर्न आनाकानी गरेको सहभागिहरुले गुनासो गरेका थिए ।
मञ्चका अध्यक्ष सुनिता चौधरीको अध्यक्षता एवं महिला तथा बालबालिका कार्यालयका प्रमुख विश्वमणि जोसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। उक्त कार्यक्रमका बक्ताहरुले मुक्त कम्लहरीरुले राज्यले उपलब्ध गराउने भनिएका सेवा सुबिधामा पारदर्षी ढंगले उपलब्ध नगराएको र प्रदान गरिदै आएको छात्राबृत्तिले पढाई खर्च नपुगेको गुनासो गरेका थिए ।