दाङमा लोपउन्मुख प्रजातिको वन्यजन्तु अजिङ्गर फेला परेको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १७ बघौसीमा अजिङ्गर फेला परेको जिल्ला वन कार्यालय दाङले जानकारी दिएको हो। स्थानीयले खोलाको ढिलमा अजिङ्गर देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले जिल्ला वनलाई खबर गरेपछि जिल्ला वन कार्यालय दाङका धनबहादुर पन्त र टेकबहादुर बस्नेतले सोमबार दिउँसो नियन्त्रणमा लिएका हुन्। उक्त अजिङ्गर करीब तीन मिटर लामो र झण्डै १२ केजी तौलको रहेको जानकारी दिइएको छ ।
स्थानीय पत्रे खोला र हापुर खोलाको बीचको क्षेत्र बघौरीमा उक्त अजिंगर फेला परेको ईलाका वन कार्यालय नारायणपुरका ज्ञानबहादुर चौधरीले बताए । तुलसीपुरमा फेला परेको अजिङ्गरलाई दाङको देउखरीस्थित जंगलमा लगेर छोडिने जिल्ला वन कार्यालय दाङका टेकबहादुर पन्तले जानकारी दिए। उक्त अजिङ्गरलाई वर्षाको समयमा आसपासको जंगलबाट बाढीले बगाएको ल्याएको हुन सक्ने आशंका गरिएको छ।