गिट्टी, बालुवा र ढुंगा अभावका कारण सिरहा र सप्तरीमा नदी नियन्त्रण तथा विकास निर्माण कार्य ठप्प भएको छ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रमअन्तर्गत सप्तरी र सिरहाको चुरे क्षेत्रबाट गिट्टी, बालुवा तथा ढुंगा ल्याउन सम्बन्धित जिल्ला समन्वय समितिले रोक लगाएपछि नदी नियन्त्रण कार्य प्रभावित भएको हो।
अन्य जिल्लाबाट ढुंगा, गिट्टी, बालुवा ल्याउँदा ढुवानी महँगो हुने तथा ल्याउन नदिने भएकाले नदी नियन्त्रण तथा विकास निर्माणको कार्यमा समस्या भएको जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लहानका प्रमुख मनोहरकुमार साहले बताए। त्यस्तै ढुंगा, बालुवा र गिट्टीको अभावले नदी नियन्त्रण तथा विकास निर्माण कार्यसँगै सम्बन्धित ढुंगा संकलन केन्द्रको स्थान पनि निर्धारण नभएकाले समस्या भइरहेको कल्याणपुर उपभोक्ता समितिका अध्यक्ष दिनेश यादवले बताए।
सो अभावका कारण सप्तरी र सिरहामा जिता, खाँडो, महुली तथा कमला नदीलगायतका नदी तथा खोला र जलाधार संरक्षणको कार्य प्रभावित भएको छ। ढुंगा, गिट्टी र बालुवाको अभावमा माटोको तटबन्ध बनाउँदा वर्षैपिच्छे तटबन्ध भत्किने र लगानी अत्यधिक हुने तथा जोखिमयुक्त ठाउँ रहने हुँदा गिट्टी, बालुवाको समस्या यथाशीघ्र समाधान हुनुपर्ने सप्तरी सिँचाइ डिभिजन कार्यालयका इन्जिनियर रामप्रसाद चौधरीको भनाइ छ।