देशभर लगातार चिसो बढेको बेला पोखरामा तापक्रम घट्दै गएको छ।
पश्चिमाञ्चल हावापानी कार्यालय पोखराले दिएको जानकारी अनुसार सोमबारको न्यूनतमा तापक्रम ४ डिग्री सेल्सियस मापन गरेको छ। आइतबार र शनिबार ४ दशमलव ५ डिग्री सेल्सियस थियो। क्षेत्रीय हावापानी केन्द्र पोखराको मापन केन्द्रले मापन गरेको मौसमको रेकर्ड अनुसार सोमबार यो वर्षकै न्यूनतमा तापक्रम मापन भएको छ। पोखरामा दिनदिनै चिसो बढ्दै गएको पश्चिमाञ्चल हावापानी कार्यालय पोखराका प्रमुख राजाराम ढकालले जानकारी दिए।
उनले बुधबारदेखि पोखरामा चिसो बढ्दै गएको बताए। उनले पोखरामा दिउँसो घाम लागेका कारण अधिकतम तापक्रम र न्यूनतमको फरक १५ डिग्रीसम्म हुने गरेको बताए । जसले गर्दा दिउँसोमा जाडोको कम अनुभव हुने गरेको बताए।
चिसो बढ्दै जाँदा जनजीवन प्रभावित भएको छ। दिनमा घाम लागेर चिसो कम भएपनि बिहान, बेलुका र राति भने चिसोले जनजीवन प्रभावित गरेको हो।
त्यसैगरी, शुक्रबारको ४ दशमलव ९ डिग्री र अधिक्तम २० डिग्री सेल्सियस मापन गरेको थियो। कार्यालयले यस अगाडि बुधबारको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस र अधिक्तम तापक्रम २१ दशमलव ३ डिग्री सेल्सीयय मापन गरिएको थियो ।
चिसोबाट बच्न चिकित्सकले न्यानो लुगा लगाउने, तातो बनाएर बस्ने, तातो झोल पदार्थ पिउने सुझाव दिएका छन्। चिसोको कारण बालबालिका, वृद्धवृद्धा बढी प्रभावित छन्। मौसम विभागले योभन्दा पनि अझ चिसो हुने बताएको छ ।
पोखरामा सन् २०१२ मा अहिलेसम्मकै कम शून्य दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो । त्यसैगरी, सन् १९७० मा १ दशमलव ८ डिग्री र १९८९ मा २ दशमलव ५ डिग्री सेल्सियस मापन भएको प्रमुख ढकालले जानकारी दिए ।