अवैध रूपमा नदी र खोलाजन्य वस्तुको उत्खनन् रोक्न पछिल्लो समय प्रहरीले निकै सक्रियता देखाएको छ।
‘सेतो सुन’को रूपमा अर्थ्याइने बालुवाको तस्करी यहाँका युवाहरूको आर्जनको प्रमुख स्रोत मान्ने गरिन्छ। ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन् र तस्करमा मुख्यगरी ‘गुन्डा र डन’ प्रवृति भएका युवाहरूकै हालमुहाली र सम्लग्नता देखिएको दाङ प्रहरीको बुझाई छ। तर ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले भने जिल्लामा कहलिएका उद्योगी व्यवसायीको यसमा मुख्य लगानी रहेको पाइएको बताए।
‘ठूला व्यापारीको लगानीमा डन र गुन्डाहरू परिचालित छन्,’– सापकोटोले भने ‘ पैसा कमाउने सजिलो माध्यम बालुवा/गिट्टी भएको हुँदा यसमा उनीहरूको ठूलो आकर्षण छ।’
बालुवा गिट्टीको अवैध व्यापार गर्न व्यवसायीहरूले युवाहरूको प्रयोग गर्ने र त्यसले अपराधलाई बढावा दिने हुँदा त्यो नियन्त्रण आवश्यक रहेको ईप्रका प्रमुख सापकोटाले तर्क गरे। ‘दाङमा अवरोध बढ्नुको प्रमुख कारण ‘ईजीमनी’ नै हो र त्यो मनीको प्रमुख स्रोत बालुवा/गिट्टी र ढुङ्गाको अवैध व्यापार नै हो। त्यसपछि जुवातास, घडेरी विक्री वितरण र लागूऔषधको कारण पनि दाङमा अपराध बढेको छ’ सापकोटाले सेतोपाटीलाई भने।
तुलसीपुर क्षेत्रमा यी सबै कुराहरू अन्यत्रभन्दा उल्लेखनीय मात्रामा भइहरेको हुँदा जिल्लाको सबैभन्दा बढी अपराध तुलसीपुरमा हुँदै आएको उनले बताए । ‘तुलसीपुर पुरानो अञ्चल सदरमुकाम हो, यो राप्ती पहाडी जिल्लाहरूको प्रवेशद्वार हो। सबैभन्दा बढी आर्थिक कारोबार तुलसीपुरमै छ र अपराध पनि तुलसीपुरमै बढी छ’ ईप्रका प्रमुख सापकोटाले भने ।
तुलसीपुर क्षेत्रबाट एक महिनामा ५५ साधन नियन्त्रणनदी र खोलाजन्य वस्तुको अवैध उत्खननमा सम्लग्न ५५ वटा साधन तुलसीपुर क्षेत्रबाट एक महिनाको अवधिमा पक्राउ गरेको ईप्रका प्रमुख सापकोटाले बताएका छन्।
मंसिर २४ गते ईप्रका तुलसीपुरमा प्रमुखका रूपमा सरुवा भएर आएका सापकोटाले पुस २४ गते अर्थात एक महिनाको अवधिमा अवैध उत्खननमा सम्लग्न ५५ साधन नियन्त्रणमा लिएर आवश्यक कारवाही गरेर छोडेको जानकारी दिए।
यो अवधिमा ४२ ट्रयाक्टर, ९ ट्रिप्पर र ४ जेसीबी नियन्त्रणमा लिएको जानकारी दिए। आइतबार राति मात्रै तुलसीपुरको पातुखोलाबाट ७ ट्रिप्पर र ३ वटा जेसीबी नियन्त्रणमा लिएको बताएका सापकोटाले ती सवारी साधनलाई जरिवाना गर्दा ४ लाख २० हजार राजस्व जिल्ला समन्वय समिति दाङमा जम्मा भएको बताए।
त्यस्तै, यो बीचमा दुईवटा जुवामा छापा मार्दा थप ३ लाख २९ हजार ३६ रुपैयाँ संकलन भएको सापकोटाले सेतोपाटीलाई बताए। एक महिनाको अवधिमा ईप्रका तुलसीपुरमा जवरजस्ती करणीसम्बन्धी दुईवटा मुद्दा, जुवासम्बन्धी मुद्दा दुईवटा, ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दुईवटा र सार्वजनिक अपराधसम्बन्धी ११ वटा मुद्दा दर्ता भएको सापकोटाले बताए।
आफू आएको एक महिनाको अवधिमा बालुवा/गिट्टीको अवैध उत्खनन् गर्ने साधन र जुवातास खेल्नेहरूलाई कारवाही गर्दा ७ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको सापकोटाले बताए।