न्यु ब्लु स्टार ओभरसिजका संचालकद्वय ठगीको आरोपमा पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले संचालकद्वय राम घिमिरे र संजय उप्रेतीलाई पक्राउ गरेको हो।
उनीहरूले सिन्धुपाल्चोक कदमबासका ओसन गिरी लगायतका २६ जनालाई कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको प्रहरीले जनाएको छ।
घिमिरे र उप्रेतीले १० लाख ६५ हजार रुपैयाँ उठाएर उनीहरूलाई कुवेत नपठाएपछि युवाहरू प्रहरीमा पुगेका थिए।
महाशाखाबाट तत्काल प्रहरी टोली उक्त मेनपावर कम्पनीमा पुगी चेक जाँच गर्दा विभिन्न व्यक्तिहरूको नाममा रहेको राहदानी ३७१ थान,भिसा ईन्ट्री रजिष्टर ,स्वीकृत नलिएका डिमाण्ड लेटरहरू, विभिन्न व्यक्तिहरूले आईएमई गरेका रसिदहरू फेला परेका छन् ।
बरामद गरिएका कागजातहरूमा राहदानी संकलन गर्नुपूर्व आवश्यक पर्ने कानूनी प्रकृया समेत पूरा गरेको नदेखिएको, कुवेत, दुवई, कतार,साउदी अरव लगायतका देशहरूमा रोजगारको लागि पठाउने भनि डिमाण्ड लेटर बिना नै ३७१ जना ब्यक्तिहरूबाट राहदानी र रकम समेत संकलन गरेको देखिन आएको प्रहरीले जनाएको छ।
मेनपावर कम्पनीले पीडितहरूबाट व्यापक गुनासो आएपछि मेनपावर कम्पनी रहेको साविक स्थान बाग्मती खोलाबाट कानून विपरीत मेनपावर कम्पनीको कार्यालय समेत सिनामंगल शक्तिमार्गस्थित एउटा घरमा सारेका थिए।
उनीहरूमाथि ठगी मुद्दा चलाइने प्रहरीले जनाएको छ। वैदैशिक रोजगार ऐन २०६४ अनुसार कसुरदारलाई कसुरको मात्रा हेरी तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद सजाय साथै मेनपावर कम्पनीको इजाजतपत्र समेत रद्द हुने व्यवस्था रहेको छ।