दाङको घोराही उपमहानगरपालिकाले नगर क्षेत्रका ‘जेष्ठ नागरिकहरूलाई परिचय पत्र’ वितरण सुरू गरेको छ। एक महिनाको अवधिमा ४ सय ५० जनालाई परिचय पत्र वितरण गरिएको मेयर नरुलाल चौधरीले सेतोपाटीलाई बताए ।
स्थानीयस्तरमा जनप्रतिनिधि आउनुभन्दा पहिले महिला तथा बालबालिका कार्यालयले जेष्ठ नागरिक परिचय पत्र वितरण गर्दै आएकोमा पछिल्लो समयले उपमहानगरले आफैँ वितरण गर्न थालेको हो।
नगर कार्यपालिकाको बैठकबाट निर्णय भए बमोजिम ६० वर्ष माथिका जेष्ठ नागरिकहरूलाई परिचय वितरण हुँदै आएको उपमहानगरको महिला तथा बालबालिका शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले बताइन्।
जेष्ठ नागरिकहरूलाई राज्यले दिएको सम्मानका रूपमा परिचय पत्रलाई लिनु उपयुक्त हुने मेयर चौधरीले बताए। ७० वर्षभन्दा माथिका उमेर समूहले जेष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्तासँगै स्वास्थ्य उपचार र यातायातमा छूटको समेत व्यवस्था गरिएको छ ।